कला

बीपी, माधव घिमिरे, डायमनशमशेर आदि स्रष्टा अब अडियोमा सुन्‍न सकिने

इकागज |
जेठ ३०, २०७८ आइतवार १६:३ बजे

काठमाडौँ :  विगत साढे दुई वर्षदेखि पुस्तकलाई प्रविधिसँग जोड्दै पुस्तकको उपलब्धताको प्रवर्धनमा लागेको ‘थुप्रै डट कम’ले पढ्न सकिने ईबुकका साथै सुन्न सकिने पुस्तकको पनि विकास गरेको छ । ‘थुप्रै डट कम’को वेबसाइट र ‘थुप्रै’ नामक मोबाइल एपबाट यस्ता पुस्तक कम मूल्यमा खरिद गरी सुन्न सकिनेछ ।  

सुन्ने पुस्तक विगतमा सिडी, रेडियो, युट्युबलगायतका माध्यमबाट उपलब्ध भए पनि प्रकाशक, लेखक तथा वाचकहरूलाई आफ्नो कृति आधिकारिकरूपमा बजारमा पुर्याउने उपाए थिएन । ‘थुप्रै डट कम’ले सुरु गरेको वास्तविक अडियोपुस्तक (अडियोबुक)को परिकल्पना नेपालमा अडियोबुकको प्रवर्धनको लागि कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।


अनलाइन अर्डर लिएर ढोकैमा पुस्तक पुर्याउने सेवाबाट सुरु भएको थुप्रै डट कमले अघिल्लो लकडाउनमा ईबुकको सेवा सुरु गरेको थियो। यसपटक ‘थुप्रै’ले सुन्न मिल्ने पुस्तकको प्रकाशन र खरिद गर्न मिल्ने व्यवस्था आफ्नो वेबसाइट तथा एपमा थपेको छ । यसले लेखक, प्रकाशक र वाचक सबैको प्रतिलिपि तथा आर्थिक अधिकार सुनिश्चित गर्नेछ भने पाठकहरूका लागि पनि सहज माध्यम बन्नेछ ।

कामको व्यस्तताले पुस्तक पढ्न चाहे पनि समय निकाल्न नसक्नेहरूका लागि मात्र नभएर सस्तोमा किताबको पढ्न पनि उपयोगी हुने विश्वास थुप्रैको छ । डियोबुकका रूपमा सुरूवातमा केही पुस्तक तयार गरिएका छन् ।

माधवप्रसाद घिमिरे, इश्वर वल्लभ, दिनेश अधिकारी, दुर्गालाल श्रेष्ठ, बैरागी काइँला, तुलसी दिवस, तोया गुरुङ, राजेन्द्र शलभ, विष्णुविभु घिमिरे, श्यामल, सुजीव शाक्य र जीवन कुमार प्रसाईंजस्ता लेखकहरूले आफ्नै आवाजमा आफ्नो कृतिहरू वाचन गरेका छन् । प्रख्यात रेडियोकर्मी खगेन्द्र नेपाली र अच्युत घिमिरेको आवाजमा सिद्दिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला,  रमेश विकल, डायमनशमशेर राणा, नारायण वाग्ले, जीवा लामिछाने, लैनसिंह बाङ्देल, दुबसु क्षेत्री र गणेश राईका चर्चित कृतिहरु पनि उपलब्ध छन् ।

‘थुप्रै’ले यो सेवा नेपालय, दृश्य, कथालय, किताब पब्लिशर्स, सांग्रिला बुक्स, फिनिक्स बुक्स, बुल्बुल पब्लिकेशन, अक्षर क्रिएशन लगाएतका प्रकाशन गृहसँगको सहकार्यमा सुरु गरेको हो । यस सहकार्यलाई अगाडि बढाउँदै निरन्तररुपमा नयाँ अडियोबुक थप्दै जाने योजना रहेको ‘थुप्रै’का सहसंस्थापक दिपेश आचार्यले बताए। उनले हाललाई प्रति अडियोबुक एक सय रूपियाँको हाराहारी पर्ने जानकारी दिए ।

नेपालमा रहेका पाठकहरुले स्थानीय अनलाइन भुक्तानी सेवा वा अनलाइन बैंकिकमार्फत अडियोबुक खरिद गर्न सक्नेछन् भने विदेशमा रहेका पाठकहरुले पनि विभिन्न अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीका माध्यमबाट खरिद गर्न सक्नेछन् । यसरी खरिद गरेको अडियोबुक आफ्नो स्मार्टफोन वा कम्पुटरबाट सुन्न सकिने छ । यात्राको बेला ब्लुटुथ वा एण्ड्रोइड अटोको माध्यमबाट आफ्नो सवारी साधनमा पनि अडियोबुक सुन्न सकिनेछ ।


Author

थप समाचार
x