कला

सुशान्तको मृत्युपछि बलिउडमा बहसमा आएका ७ मुद्दा

इकागज |
जेठ ३१, २०७८ सोमबार १६:२७ बजे

मुम्बई :  आजकै दिन सुशान्तसिंह राजपुतले मृत्युवरण गरेका थिए । भलै त्यो आत्महत्या हो कि हत्या, अनुसन्धान गरिरहेको प्रहरीले पनि निचोड निकाल्न सकेको छैन तर उनको मृत्युले बलिउडमा कहिलै नभएको बहस छेडियो ।

सधैं एक खाले अनुहार देखाउँदै आएको बलिउडको सुशान्तको मृत्युपछि अर्को अनुहार पनि सामुन्ने आयो जुन धेरैको कल्पनाभन्दा बाहिरको थियो । नातावाद, कृपावाद र ड्रग्स यो अनुहारका हाइलाइट थिए । उनको मृत्युपछि बलिउडमा केही मुद्दा सतहमा आए जसको असर  भविष्यमा देखिन्छ । बलिउडहंगामाले ती मुद्दालाई मोटामोटी ७ बुँदामा प्रस्तुत गरेको छ । 


१. ब्लाइन्ड आर्टिकलमा रोक 
सुशान्तसिंह राजपुतको मृत्युअघि पत्रिकाका मनोरञ्जन कोलममा पत्रकारले आफूले मन नपराएका कलाकारको बारेमा जे मन लाग्यो लेख्थे । यस्तोमा फिल्मका कुरादेखि कलाकारका व्यक्तिगत जीवनका कुरा पनि हुन्थे । ‘ब्लाइन्ड आर्टिकल’ भनिने यस्ता लेखको आतंकले कलाकार हदैसम्म पीडित रहन्थे । सुशान्तको मृत्युपछि जब उनका फ्यानले उनीमाथि पत्रपत्रिका तथा अनलाइनले यस्ता ब्लाइन्ड आर्टिकल लेखेको थाहा पाए, बलिउडमा यो विषय सतहमा आयो । त्यसयता पत्रपत्रिकाले कलाकारको बारेमा मनगढन्ते किस्सा लेख्न छाडेको बताइएको छ । 

२. शंकाको घेरामा स्टार 
बलिउडमा आफूलाई मन पराएका कलाकारलाई मान्छे होइन भगवान बनाउने प्रवृत्ति छ । आफूले मन पराएको कलाकारले जे गरे पनि बचावका लागि फ्यान खडा हुन्छन् । तर, सुशान्तसिंहको मृत्युपछि कलाकारको यो छविमा आँच आयो । समकालीन साथीविरुद्ध गुटबन्दी, ड्रग्सको सेवन र अनावश्यक पारिश्रमिकको कुरा बाहिर आएपछि फिल्म उद्योग पहिलोपल्ट शंकाको घेरामा आयो । सोचेझैं हैन छ है बलिउड भन्ने कुरा दर्शकको दिमागमा पर्यो । 

३. गुटबन्दीमा बहस 
जति ठूलो उद्योग उति धेरै गुट । बलिउड गुटबन्दीको इतिहास लामो छ । भनिन्छ राजकपुरको पालादेखि बलिउडमा गुट वा क्याम्पको सुरुवात भएको हो । पछिल्लो समय प्रडक्सन हाउसले यो चलनलाई निरन्तरता दिएका थिए । यसमा पनि करण जौहर पहिलो नम्बरमा थिए । उनले भएभरका कलाकारका छोराछोरीलाई आफ्नो प्रडक्सन हाउसका फिल्मबाट डेब्यू गराउने र घुमिफिरी तिनैलाई लिएर बाँकी फिल्म बनाउने आरोप थियो । सुशान्तको मृत्युपछि बलिउडमा रहेको गुटबन्दीमाथि जमेर बहस भयो । 

४. कलाकारको पारिश्रमिक
सुशान्तको मृत्युले ‘ट्रिगर’ गरेको अर्को बहस थियो पारिश्रमिकको । बलिउडका केही स्टारले सय करोडसम्म पारिश्रमिक लिने गरेका छन् । तर, यहीँ बीचका स्टारको पारिश्रमिक भने माया लाग्दो छ । महिला कलाकारलाई पुरुष कलाकारको तुलनामा कम पैसा दिएको कुरा त लामो समयदेखि बहसको विषय छँदै थियो । तर, सुशान्तको मृत्युपछि कमाई नै नगर्ने स्टारको पैसा पनि किन यत्ति धेरै भनेर बहस भयो । तर, यो बहसले यो एक वर्षमा उतिसारो परिवर्तन भने ल्याइसकेको छैन । 

५. फार्महाउस वा रेभ पार्टीमा कमी 
बलिउडका हरेक ठूला स्टारको आफ्नै फार्महाउस छ । यो फार्म हाउसमा उनीहरूले खुलेर पार्टी गर्ने गरेका रहेछन् । मुम्बईको पाभनामा सुशान्तको पनि यस्तै फार्म हाउस थियो । यहाँ बसेर उनले पनि ड्रग्स लिने गरेको घटना सार्वजनिक भएका थिए । सुशान्तको मृत्युपछि भारतको नारकोटिक्स ब्युरोले यस्ता सबै पार्टीमाथि छानबिन गर्न थाल्यो र वर्षभरिमा लगभग यस्ता पार्टी हुनै छाडे । हुनत यही समयमा लकडाउन चलिरहेको कारण पनि कमी आएको हुनसक्छ तर योबीचमा बलिउडले यस्ता पार्टी आयोजना गर्न बन्द गरेको छ । 

६. इन्साइडर भर्सेज आउटसाइडर 
इन्साइडर भर्सेज आउटसाइडरको बहस सुशान्तको मृत्युले बलिउडमा निम्त्याएको अर्को महत्वपूर्ण विषय हो । बलिउडमा सुशान्त जस्तो उद्योग बाहिरबाट आएका कलाकारलाई टिक्न गाह्रो भएकै कारण उनले ज्यान गुमाएको कुरामा दर्शक सहमत भएपछि वर्षभरी नै उद्योग भित्रको÷बाहिरको बहसमा अल्झियो । यसो गरिरहँदा नातावाद र कृपावादको बहस पनि गहिराइका साथ सतहमा आयो । तर, यो एक वर्षमा उद्योग आफ्नो र पराइको बहसभन्दा पनि प्रतिभाशालीलाई मौका दिनुपर्छ भन्ने मनोविज्ञानमा अगाडि आएको छ । 

७. सुशान्त एक विम्ब
यो एक वर्षमा सुशान्त आफैं एउटा अलंकारको रुपमा स्थापित भएका छन् । उनको संघर्ष र अवसान आफैंमा एउटा विम्बको रुपमा अगाडि आएको छ । जस्तो कि भर्खरै कार्तिक आर्यनले करण जौहरको र शाहरुखको प्रडक्सनको फिल्म छाडे । मानिसहरू कार्तिकको पनि हालत सुशान्तको जस्तो नहोस् भनेर संगठित भए । यसरी सुशान्त अब धेरै कुराको विम्ब बनेका छन् । 


Author

थप समाचार
x