कला

मलयालम फिल्म ‘जलिकट्टु’ले अस्करमा भारतको प्रतिनिधित्व गर्ने

इकागज |
मंसिर १०, २०७७ बुधबार १६:५१ बजे

मुम्बई: मलयालम फिल्म ‘जलिकट्टु’ले यो साल अस्करमा भारतको प्रतिनिधित्व गर्ने भएको छ । भारतको दि फिल्म फेडरेसन अफ इन्डिया (एफएफआई)ले अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा आउँदो वर्षको अप्रिलमा हुने प्रतिस्पर्धाका लागि लिजो जोजे पेल्लिसेरी निर्देशित फिल्मलाई पठाउने निर्णय गरेको हो । प्रतिस्पर्धाका लागि विभिन्न राज्यबाट प्राप्त २७ फिल्मबाट ‘जलिकट्टु’ छानिएको एफएफआईले जनाएको छ ।

एफएफआईको तर्फबाट फिल्म छनोट समितिका मुख्य निर्णायक निर्देशक राहुल रवैलले फिल्मले मानवीय स्वभावलाई अत्यन्त रोचक कथा र शैलीमार्फत अभिव्यक्त गरेको भन्दै भारतबाट यो फिल्मलाई पठाउने निर्णय गरेको बताएका छन् । ‘ पूरा फिल्म जनावरमाथि केन्द्रित छ जो कसाइको बधशालाबाट भाग्न सफल भएको छ । मानिसको दुष्ट स्वभावप्रति कडा व्यंग्य गर्ने फिल्मको खिचाइ पनि उत्कृष्ट छ । फिल्मले प्रवाह गर्ने इमोसनले हामी सबैलाई प्रभावित गर्यो । यही कारण हामीले यो फिल्म छान्यौं,’ अनलाइन प्रेस कन्फ्रेन्समा राहुल रवैलले फिल्म छनोट हुने कारणबारे ब्याख्या गर्दै भनेका थिए । अस्कर जाने दौडमा ‘दि डिसाइपल’, ‘गुञ्जन सक्सेना’, ‘छलाङ’आदि हिन्दी फिल्मसँगै मराठी, तमिल, तेलगु भाषाका फिल्म पनि समावेश थिए ।  


गत सालको टोरन्टो फिल्म फेस्टिभलमा प्रिमियर भएको फिल्मले चौतर्फी प्रशंसा पाएको थियो । पेल्लिसेरीले यसअघि ‘अंगमली डायरिज’, ‘इ मा यु’ जस्ता फिल्म निर्देशन गरेका छन् । गत साल जोया अख्तर निर्देशित फिल्म ‘गली ब्वाई’ले अस्करमा भारतको प्रतिनिधित्व गरेको थियो । अस्करको ९३ औं संस्करण सन् २०२१ को अप्रिल २५ मा डल्बी थिएटरमा आयोजना हुँदैछ । महामारीका कारण दुई महिना पछि सरेको अस्कर यसअघि फ्रेब्रुअरी महिनाको दोस्रो आइतबार हुँदै आएको थियो । 


Author

थप समाचार
x