'पुजार सार्की'को पहिलो गीत 'दर्शन गरेँ' सार्वजनिक, प्रमुख कलाकारले गरे कौडा नृत्य
काठमाडौँ- आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र 'पुजार सार्की' को पहिलो गीत 'दर्शन गरेँ' सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको यो गीत मगर जातिहरूको परम्परा अनुसारको लोकप्रिय 'कौडा नृत्य' मा आधारित छ ।
यस गीतमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुले मगर पहिरनमा सजिएर सामूहिक कौडा नृत्य गरेका छन् । कास्कीको जिल्लाको धम्पुसमा छायाङ्कन गरिएको यसको भिडियो माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राख्दै तयार पारिएको छ । यसका कोरियोग्राफर शिशिर खाती हुन् । हर्क साउदका शब्द र सुवास भुसालको सङ्गीत रहेको यस गीतमा प्रकाश सपुत र र शान्ति श्री परियारको स्वर रहेको छ ।
यसअघि सार्वजनिक पोस्टर र टिजरलाई दर्शकले अत्यधिक रुचाएका छन् । यस चलचित्रमा आर्यन सिग्देल पुजारीको भूमिकामा देखिएका छन् । प्रदीप खड्का दमाहा बजाउँदै गरेको देखाइएको छ तर, उनको पूर्ण परिचय भने गराइएको छैन । पल शाहको भूमिका क्रान्तिकारी रहेको अनुमान गरिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ । यस चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस चलचित्रमा अभिनय रहेको छ ।
वर्ष २०८१ को लागि सर्वाधिक प्रतीक्षामा रहेको 'पुजार सार्की' लाई दिनेश राउतले निर्देशन गरेका छन् । दर्शकको रोजाइका तीन स्टारहरूको अभिनय रहेको यस चलचित्रलाई लिएर लामो समयदेखि व्यापक चर्चा भइरहेको छ । निर्देशक राउतले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाएका छन् । 'प्रसाद' , 'क्लासिक' , 'नोभेम्बर रेन' , 'प्रकाश' लगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् । यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र 'प्रकाश' मा सहकार्य गरेका थिए ।
चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेनमेन्टले वितरण गर्दैछ । निर्माता भुसालले नै यस चलचित्रको लागि सङ्गीत तयार गरेका छन् । हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् । राजेश श्रेष्ठको डिओपी रहेको 'पुजार सार्की' लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् । चलचित्रको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन् ।
भिडियो:
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया