कला

आऊ शासन गर

शिव उप्रेती |
असार ३, २०७८ बिहिवार १०:४४ बजे

ब्वाँसो आऊ शासन गर

फ्याउरा आऊ शासन गर


स्याल, हाप्सिलो सबै आऊ

र हामीमाथि शासन गर

किनभने तिमीलाई भोट दिने मै हुँ ।

जुका आऊ शासन गर,

लामखुट्टे आऊ शासन गर

उपियाँ, उँडुस सबै आऊ

र हामीमाथि शासन गर

किनभने तिमीलाई नै मैले भोट दिएको हुँ ।

झिँगा आऊ शासन गर,

 भुसुना आऊ शासन गर,

धमिरा, चेपागाँडा सबै आऊ

र हामीमाथि शासन गर ।

हिजो पनि त हामीमाथि

तिमीले नै शासन (रजाइँ) गरेका थियौ ।

 हामीमाथि शासन गर्न

हामीले नै त हो तिमीलाई भोट दिएको ।

त्यसैले कत्ति पनि लाज नमानी

म तिमीलाई ‘बधाइ र शुभकामना’ दिँदै छु

किनभने आफूमाथि तिम्रो शासन चलाउन भोट दिने मै हुँ

मेरो सत्ता चलाउन तिमीलाई भोट हाल्ने हात मेरै हो,

सर्वज्ञ र सर्वशक्तिमान तिमीलाई ठान्ने र चुन्ने मन मेरै हो ।

त्यसैले लाज र घिन सबै पचाएर ‘बधाइ र शुभकामना’ दिँदै छु,

हिजो पिता पुर्खाले पनि तिमीलाई नै चुनेकै’थे

र मेरा भावी पुस्ताले पनि फेरि तिमीलाई नै चुनिरहनेछन् ।


Author

थप समाचार
x