कला

विनामेकअप सिनेमामा ‘स्टार’ बनेकी साई पल्लवी

सुनीता साखकर्मी |
असार ३, २०७८ बिहिवार १६:३१ बजे

आँखामा पातलो लाइनर, निधारमा सानो बिन्दी र खुल्ला छोडिएका लामो कपाल । उनको फिल्मी लुक यतिमै सकिन्छ । न त छाला गोरो पार्न कुनै क्रिम लगाइएको हुन्छ, न त ‘हेब्बी’ मेकअप । टाढाबाट हेर्दा होस् या नजिकबाट लिइएका ‘क्लोज’ सटहरूमा, अनुहारका कोठी र डन्डिफोरले छाडेका निशानहरू प्रष्ट देखिन्छन् ।

 उनी अर्थात्, साई पल्लवी । साउथ इन्डियन सिनेमाकी चर्चित एवं लोकप्रिय अभिनेत्री साई पल्लवी मेकअपबाट टाढै बस्छिन् । चलचित्रका ‘ह्यापी’ सिनमा होस् या ‘स्याड’ सिन, विवाहको मण्डपमा होस् या रोमान्टिक गीतमा नाच्दै गरेका सिनहरूमा, उनी मेकअपविनै प्रस्तुत हुन्छिन् । विनामेकअप नै उनलाई दर्शकले स्वीकारेका छन् ।


निर्देशकहरु पनि उनलाई विनामेकअप नै सुट गर्न चाहन्छन् । यसले न त फिल्मलाई कुनै असर गरेको छ, न त फिल्मको कमाइलाई ।  विनामेकअप उनमा अहिले जति आत्मविश्वास देखिन्छ, त्यो भने त्यति सजिलै आएको थिएन । यहाँसम्म आइपुग्नको लागि उनी थुप्रै भावनात्मक उतारचढावबाट गुज्रिएकी छन् । अझ जीवनको सुरुवाती चरण त निकै सकसपूर्ण थियो उनको । 

सन् १९९२ मे ९ मा तमिलनाडुको कोटागिरीस्थित बागडा परिवारमा जन्मिएकी हुन् , साई । उनकी दिदीको छालाको रंग गोरो थिएन । त्यसैले उनकी दिदी गोरी हुन अनेक गर्थिन् । सानैदेखि साई पल्लवीको पनि अनुहारका छाला ‘सेन्सेटिभ’ थियो । युवावस्थामा त डन्डीफोरले उनको अनुहार छपक्कै ढाकिन्थ्यो । आफ्नो अनुहार देखेर उनी आफैँ निराश हुन्थिन् । 

मेकअप गरेको साई पल्लवीको तस्बिर 

सानैदेखि त्रिसा कृष्णनन्, सिमरन जस्ता अभिनेत्रीहरूको शरीरको बनावट, छालाको रंग सबै ‘पर्फेक्ट’ लाग्थ्यो उनलाई । ‘टीभी, फिल्म, होर्डिङ बोर्ड जताततै देखिने युवतीका छालाको रंग, शरीरको बनावट, सबै ‘पर्फेक्ट’ हुन्थे । ‘म जस्ता त कोही थिएनन्, जसलाई हेरेर मैले इन्स्पिरेसन लिन सकुँ,’ साई भन्छिन्, ‘जर्जियामा मेडिसिन पढ्दै गर्दा पनि मभित्र इन्सेक्युरिटी थियो । त्यहाँ मसँग भएका जर्जियन मानिसहरूको अनुहारमा डन्डिफोर थिएन । तर मेरो अनुहार भरी डन्डिफोर थियो । म जस्तो छु, त्यस्तै एसेप्ट गरूँ कि नगरूँ भन्नेमा दुविधामा थिएँ ।’ 

जर्जियाको त्बीलीसी स्टेट मेडिकल विश्व विद्यालयमा उनी मेडिकल अध्ययन गरिरहेकी थिइन् । २०१४ मा निर्देशक अल्फोज पुथरिनले ‘प्रेमम’ मा मलारको भूमिका अफर गरे । उनको यो पहिलो मलयालम फिल्म थियो । उनले यो फिल्ममा शिक्षिका ‘मलार’को भूमिका निभाएकी थिइन् ।

त्यसपछि अध्ययनकै क्रममा उनले फिल्म पूरा गरिन् । जसमा उनले आफूलाई विनामेकअप नै प्रस्तुत गरिन् । निर्देशकले पनि कुनै ‘अब्जेक्सन’ जनाएनन् । यो फिल्म २०१५ मा रिलिज भयो र सुपरहिट भयो ।  

फिल्म रिलिज हुने समयमा उनी जर्जियामै थिइन् । जुन दिनमा उनी एकदमै नर्भस थिइन् । ‘अन्य अभिनेत्रीसँग तुलना गरी मेरोविना मेकअपको अनुहारलाई मानिसहरूले जिस्काउने हो कि, फिल्ममा केही असर गर्छ कि भनेर चिन्तित थिएँ,’ साई भन्छिन्, ‘तर त्यस्तो भएन । मैले त्यसको ठीक विपरित प्रतिक्रियाहरू पाएँ ।

र्शकहरूले मेरो अनुहारमा आफ्नै अनुहार पाएको भन्दै खुसी व्यक्त गरेको देखेर म पनि खुसी भएँ । मेरो डन्डिफोरले भरिएको अनुहारसहित मलाई एसेप्ट गरियो । जसले मलाई आफैँप्रति आत्मविश्वास बढाइदियो । दर्शकको मायाले म जस्तो छु, त्यस्तै राम्री छु भन्ने महसुस गरायो ।’ 

मेकअपविनाकी साई पल्लवी 

त्यसपछि उनले आफ्नो अनुहारलाई स्वीकार गर्ने हिम्मत पाइन् । नत्र त उनी पनि अनुहारलाई मेकअपले ढाक्थिन् । ‘प्रेमम’को सफलतापछि उनलाई अन्य निर्देशकले पनि विनामेकअप नै सुट गर्न थाले । उनले तमिल, तेलगु, मलयालमका ‘काली’, ‘एमसीए (मिडल क्लास अब्बायी’, ‘कारु’, ‘फिदा’ लगायत थुप्रै फिल्ममा अभिनय गरेकी छन् । ‘फिदा’ र ‘प्रेमम’को लागि साईले फिल्म फेयर अवार्ड नै पाएकी छन् । 

अहिले साई साउथ इन्डियन सिनेमाकी सुपरहिट अभिनेत्री हुन् । उनको आफ्नै फ्यान फलोइङ छ । सिनेमामा सफल हुनु भनेको ब्रान्ड इन्डोर्समेन्टको पनि अवसर पाउनु हो । २०१९ मा साईलाई यस्तै एउटा फेयरनेस क्रिमको विज्ञापनको अफर आएको थियो ।

सको राशि थियो, दुई करोड जुन उनले फिल्ममा लिइरहेको पारिश्रमिकभन्दा दस गुणा बढी हो । तर साईले त्यो अफर इन्कार गरिदिइन् । त्यस समय उनले भनेकी थिइन्, ‘म भारतीय हुँ र मेरो छालाको रंग जस्तो छ, त्यही सही छ ।’ यस्ता प्रकारका विज्ञापनले महिलाहरूलाई गलत सन्देश दिने उल्लेख गर्दै उनले यस्ता विज्ञापनबाट पाइने पैसाको आवश्यकता नभएको उनले बताएकी थिइन् । 

त्यो विज्ञापन नगर्नुलाई उनले आफ्नो व्यक्तिगत इच्छाको रूपमा व्याख्या गरेकी छन् । ‘म मेकअप गर्नेहरूको विरुद्ध होइन, मेकअप गर्नु पनि व्यक्तिगत रूचि हो । आफूलाई मेकअप गर्न मन लाग्छ, गरे हुन्छ,’ उनी भन्छिन्, ‘तर कसैले ‘तिमी काली छौ’, ‘तिम्रो तौल बढी छ’ आदि इत्यादि भनेर हेपेको कारणले मेकअप गर्न, दौडन थाल्ने सोचको भनेविरुद्ध छु । समाजले म यस्तो हुनुपर्छ, त्यस्तो हुनुपर्छ भनेर हुकुम चलाउन सक्दैन ।’

फेयरनेस क्रिम ब्यान्ड गर्न माग गरेर मात्रै केही नहुने उनको तर्क छ । फेयरनेस क्रिम ब्यान्ड गरे, अन्य क्रिमहरू आफूलाई ‘प्राकृतिक प्रोडक्ट’ भन्दै बजारमा आउने उनी सुनाउँछिन् । ‘यो प्रक्रिया कहिले पनि सकिँदैन । हाम्रो इन्सेक्युरिटीहरूको कारण नै हामीमाथि शोषण हुन्छ्,’ उनी भन्छिन्, ‘त्यसैले तपाई आफ्नो आत्मविश्वास आफैले बढाउनुपर्छ । मानिसहरूको छालाको रंगभन्दा पनि उसको चरित्र हेरेर प्रशंसा गर, प्रेम गर ।’ 

-एजेन्सीको सहयाेगमा


Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार
x