कला

‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता, विजेतालाई २ लाख ५० हजार

इकागज |
असार ४, २०७८ शुक्रबार ११:० बजे

काठमाडौं :  राष्ट्रिय युवा संघ नेपालले ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता गर्ने भएको छ । युवा संघले प्रेस विज्ञप्ति जारी गर्दै युवाहरुको नवीन सोच र श्रृजनशीलतालाई राष्ट्र निर्माणका अभियानमा जोड्ने सन्दर्भ सामाग्री निर्माणको सोचसहित यो प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । 

‘एनवाईएफ सर्ट मुभी कम्पिटिसन २०७८’ नाम दिइएको यो प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनुपर्नेछ ।


‘प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले ‘म केही गर्छु’ विषयको केन्द्रमा रही  स्क्रिप्ट बुझाउनु पर्नेछ ।  यसरी सहभागिताका लागि आएका स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेछ । यो प्रक्रियाबाट बनेका फिल्महरु मध्ये उत्कृष्ट तीन फिल्मलाई हामीले पुरस्कारको व्यवस्था गरेका छौँ,’ राष्ट्रिय युवा संघ अध्यक्ष किरण पौडेल हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।  

पौडेलकाअनुसार यो प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले असार २५ सम्म स्क्रिप्ट पठाइ सक्नुपर्ने छ । यसरी आएका स्क्रिप्टबाट बनेकामध्ये पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रो हुने फिल्मले १ लाख ५० हजार र तेस्रो हुने फिल्मले १ लाख रुपैंया प्राप्त गर्ने छन् । 

राष्ट्रिय युवा संघ मुख्य आयोजक रहेको यो प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सह आयोजनक रहेको छ भने नेसनल युथ काउन्सिलले प्रवद्र्धन गर्ने छ । त्यसैगरी प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पीनेस र प्रमोटर्स नेपालको सहयोग रहनेछ । क्यानडानेपाल डट र मेरोफिल्म डटकम प्रतियोगिताको सञ्चार सहयोगी रहनेछन् । इच्छुक फिल्मकर्मीले संघको इमेल ठेगाना ([email protected]) मा आफ्नो स्क्रिप्ट पठाउनुपर्ने छ ।


Author

थप समाचार
x