कला

‘अला बैकुण्ठपुरमलु’ को हिन्दी रिमेकमा तब्बुको ठाउँमा मनीषा

इकागज |
असार ५, २०७८ शनिबार १२:२० बजे

मुम्बई :  अल्लु अर्जुनको सुपरहिट फिल्म ‘अला बैकुण्ठपुरमलु’को एकता कपुरले हिन्दी रिमेक बनाउँदैछिन् । यसको जिम्मा उनले वरुण धवनको दाइ रोहित धवनलाई दिएकी छिन् । अहिले रोहितले यसको कास्टिङ गरिरहेका छन् ।

बताएअनुसार फिल्ममा अल्लु अर्जुन र पूजा हेगडेले गरेको भूमिकाका लागि कार्तिक आर्यन र कृति सेननलाई रोहितले अनुबन्ध गरेका छन् । तर, फिल्ममा अल्लु अर्जुनको आमाको भूमिकाका लागि भने भनेको अनुहार पाउन उनलाई गाह्रो परिरहेको छ । फिल्मको तेलगु भर्सनमा तब्बुले अल्लु अर्जुनको आमाको भूमिका निर्वाह गरेकी छिन् । 


रोहित र एकताले हिन्दी रिमेकका लागि पनि तब्बुलाई राख्न खोजेका थिए । तर, ‘भूलभूलैया २ ’ मा पनि तब्बु कार्तिक आर्यनको आमाकै भूमिकामा रहेको बताएर तब्बुले फिल्म गर्न चाहिनन् । त्यसपछि आमा खोजिरहेका रोहितले मनीषा कोइरालालाई फिल्मका लागि अनुरोध गरेको बताइएको छ । मनीषाले पनि फिल्मको हिस्सा बन्न स्वीकारेसँगै फिल्मको कास्टिङको पाटो पूरा भएको बताइएको छ । 

लकडाउनका कारण नेपालमा नै बसिरहेकी मनीषा अभिनीत एउटा फिल्म केही दिन अघि मात्र ‘ट्रिबाका फिल्म फेस्टिभल’मा प्रदर्शन भएको थियो । ‘इन्डिया स्विटस् एन्ड स्पाइसेज’ शीर्षकको यो फिल्ममा मनीषाले आदिल हुसैनको जोडीको रुपमा अभिनय गरेकी छिन् । 


Author

थप समाचार
x