कला

कृषि सम्मानित पेसा हो, पछिल्लो पुस्तालाई माटोको महत्व बुझाउनुपर्छ : राजेश हमाल

इकागज |
असार १५, २०८१ शनिबार २१:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- अभिनेता राजेश हमालले कृषि सम्मानित पेसा भएकाले नयाँ पुस्तालाई यसको महत्व बुझाउन जरुरी रहेको बताएका छन् । 

राष्ट्रिय धान दिवसका अवसरमा आज यहाँस्थित खोकनामा आयोजित कार्यक्रममा सहभागी भएका अभिनेता हमालले आफ्नो पुस्ता माटो र कृषिसँग प्रत्यक्ष जोडिएका पनि पछिल्लो पुस्ता त्यसबाट टाढा रहेको बताए । 'म प्रत्येक असार १५ मा रोपाइँ नगरे पनि खेत र बारीको माटोसँग खेल्दै हुर्किएको हुँ । मेरो हजुरआमाले ९१ वर्षको उमेरसम्म खेतीपाती गर्नुभयो, त्यसैले पनि खेतमा पुग्ने गर्थेँ,' उनले भने, 'हाम्रो पुस्ता कुनै न कुनै माध्यमबाट कृषिमा संलग्न भएता पनि अहिलेको  पुस्तामा भने ग्याप देखिएको छ । उहाँहरूलाई किसानी, कृषि र माटोको महत्व बुझाउनुपर्छ ।' 


उनले कृषिलाई प्राथमिकतामा राख्न नयाँ पुस्तालाई आग्रह गरे । 'सक्नुहुन्छ भने कुनै रूपमा भए पनि कृषिजन्य क्षेत्रमा लाग्नुस् । आफ्नो पुस्तालाई प्रोत्साहन गर्नुस् । नयाँ पुस्ता नआई आधुनिक किसिमले खेती गर्न सकिँदैन,' अभिनेता हमालले भने । 

हमाल कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधारशीला बनाएको प्रतियोगितामूलक कार्यक्रम ‘र’ मा समेत जोडिएका छन् । 


Author

थप समाचार
x