उद्योग छाड्ने मनसायले ‘बिफोर’ सिरिजको चौथो भाग अस्वीकार गरेकी थिइन् जुली डेलपेले
लसएन्जल्स : सिनेमालाई दृश्यको माध्यम भनिन्छ । बोलिने कुरालाई दृश्यले नै अभिव्यक्त गर्नु राम्रो मानिन्छ । कलाकार बोलेको बोलै गर्ने सिनेमा राम्रा सिनेमामा गनिन्नन् । तर रिचार्ड लिंकलेटरले संवादको भरमा मात्र बनाएको ‘बिफोर’ सिरिज अपवाद मानिन्छ ।
यसका तीन शृंखला ‘बिफोर सनराइज’, ‘बिफोर सनसेट’ र ‘बिफोर मिडनाइट’ यही विशेषताका कारण ‘क्लासिक’ सिनेमाको सूचीमा अटाएका छन् । केही समय पहिले रिचार्ड लिंकलेटरले यसको चौथौ भाग बनाउने तयारी गरेको समाचार आएका थिए ।
तर, यो सिरिजको अभिनेत्री जुली डेलपेले यो सिरिज गर्न मन नगरेको बताइएको थियो । जुलीले अरु कुनै कारणले नभई आफूले उद्योग नै छाड्ने मनसायले रिचार्डलाई नाइँ भनेको बताएकी छिन् ।
‘डेढ वर्षअघि मैले यो विषयमा धेरै सोचेकी थिएँ । ‘माई जोई’ फिल्म बनाउँदा म यत्ति धेरै थाकेँ कि रिचार्डलाई पनि नाइँ भनेँ । बरु म स्कुल पढाउने सोचिरहेकी थिएँ,’ उनले भनेकी छिन् । तर, कथा भन्ने लोभले यो क्षेत्र छाड्न नदिएको उनको कथन थियो ।
‘बिफोर’ सिरिजको चर्चा यतिबेला नै किन चल्न लागेको हो भने आउँदो साल यो फिल्मको पछिल्लो शृंखला ‘बिफोर मिडनाइट’ रिलिज भएको ९ वर्ष पुग्दैछ । अनि यो शृंखलाको विशेषता के हो यसका तीनै भाग ९/९ वर्षको अन्तरालमा रिलिज भएका थिए । यो फिल्मको पहिलो भाग जम्मा १५ दिनमा सुटिङ गरिएको थियो भने बजेट पनि अति सस्तो थियो । स्टेडीक्यामसँगै लङ सटलगायतका सट यही फिल्मले स्थापित गरेको थियो ।
मतलब यसको चौथो शृंखला सन् २०२२ मा आउनु पर्ने थियो । तर, जुलीविना यो फिल्म बन्ने सम्भावना नभएपछि यो समय सीमा घर्कने भएको छ । जुली यो फिल्मकी अभिनेत्री मात्र नभएर लेखक पनि हुन् । त्यसैले पनि उनले जाँगर नलगाएसम्म चौथो भाग हेर्न पाइने सम्भावना भने देखिन्न ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया