कला

न्यायाधीशसँग ब्रिटनीको अनुरोध, ‘मलाई बाबुको संरक्षणबाट मुक्ति दिनुस् । म विवाह गरेर बच्चा जन्माउन चाहन्छु ’

इकागज |
असार १०, २०७८ बिहीबार १२:१९ बजे

लसएन्जल्स :  गायिका तथा अभिनेत्री ब्रिटनी स्पेयर्सले आफूलाई बुबाको संरक्षणबाट मुक्ति दिन आग्रह गरेकी छिन् । उनले बुधबार अदालतमा आफ्नै बुबाको कारण जीवन तहसनहस भएको जिकिर गर्दै आफूलाई बुबाको संरक्षणबाट मुक्ति दिन आग्रह गरेकी हुन् । 

‘मैले १३ वर्षदेखि दुनियाँलाई म ठीक छु, खुशी छु भनेकी थिएँ । यो झुठो हो । म खुशी छैन । म सुत्न सक्दिन । म पागल भइसकेँ । म निराश छु ’ उनले भनिन् । 
२४ मिनेट लगातार बोलेकी उनले आफूले आफ्नो वकिल नियुक्त गर्न पाउनुपर्ने, आफ्नो थेरापीको 'एपोइन्टमेन्ट' आफैंले लिन पाउनुपर्ने माग राखेकी थिइन् ।


उनले आफूलाई विवाह गर्न र बच्चा जन्माउने स्वतन्त्रता दिन पनि न्यायाधीशसमक्ष आग्रह गरेकी थिइन् । आफूमाथि भएको दुव्र्यवहारका लागि उनले आफ्नै बुबाविरुद्ध मुद्दा हाल्न पनि अनुमति दिन आग्रह गरेकी थिइन् ।

उनले मनोविज्ञानको परीक्षामा असफल भएपछि बुबालाई फोन गर्दा खुशी भएर रिहाबमा जान सुझाएको घटना पनि स्मरण गरेकी थिइन् ।  ‘म फोनमा एक घन्टा लगातार रोएँ । मेरा प्रत्येक आशुले मेरो बुबालाई खुशी दिइरहेको थियो । आफ्नो छोरी दुःखी भएको मेरो बुबाले आनन्द लिइरहेका थिए,’ उनले भनेकी थिइन् । 

उनले बुबा जेमी स्पेयर्ससँगै संरक्षणकर्ताको रुपमा रहेका परिवारका अन्य सदस्यलाई पनि जेल हाल्नुपर्ने बताएकी थिइन् । ‘म काम गर्ने । पैसा मैले कमाउने तर त्यो पैसा मैले चलाउन नपाउने । मेरो पैसामा अरुले नै मोज गर्ने । यस्तो कानुन परिवर्तन गर्नुपर्छ,’ लगातार बोलेकी ब्रिट्नीको प्रस्ताव थियो ।  संरक्षणको व्यवस्थाले आफूले विवाह गर्न र बच्चा नपाउन पनि नपाएको उनको गुनासो थियो ।

‘मेरो शरीरभित्र गर्भ निरोधक राखिएको छ । म यो निकालेर बच्चाको आमा बन्न चाहान्छु । तर, मेरो संरक्षणकर्ता डाक्टरकोमा जान पनि दिन्नन् । किनकि उनीहरू मेरो बच्चा होस् भन्ने पनि चाहान्नन् । यसरी उनीहरूको संरक्षणले मेरो भलो होइन कुभलो गरिरहेको छ । म मेरो जीवन फिर्ता चाहन्छु,’ उनले भनेकी थिइन् । 

सन् २००८ मा ब्रिट्नीले टाउको खुइल्याउने, पापाराजीमाथि आक्रमण गर्ने जस्ता असामान्य व्यवहार देखाउन थालेपछि उनलाई रिहाब लगिएको थियो । दुई वर्षपछि यहाँ बसेर फर्किए पनि पूर्णतया ठीक नभएको भन्दै उनको बुबाले उनको संरक्षणको जिम्मा लिएका थिए । संरक्षणको कानुनी व्यवस्थामा ब्रिट्नीले यसको अनुमतिविना केही पनि गर्न पाउँदिनन् ।


Author

थप समाचार
x