स्यारोन स्टोन भन्छिन् , ‘मेरिल स्ट्रिप मात्र महान् अभिनेत्री हैनन्, अरु पनि छन् '
लसएन्जल्स : यो हप्ता मेरिल स्ट्रिपले ७२ औं जन्मदिन मनाइन् । तर, सामाजिक सञ्जालमा यतिबेला मेरिल स्ट्रिप हैन ‘बेसिक इन्स्टिक्ट’ अभिनेत्री स्यारोन स्टोनको चर्चा छ । गत महिना प्रकाशित एउटा अन्तर्वार्तामा उनले मेरिल स्ट्रिपलाई मात्र आदर्श मान्न नहुने धारणा राखेपछि उनको यो अन्तर्वार्ता अहिले चर्चामा रहेको छ ।
अन्तर्वार्ताकारले स्यारोनलाई ‘फाइनल्ली तपाईंले पनि मेरिलसँग काम गर्ने मौका पाउनु भयो हैन ?’ भन्ने प्रश्न सोधे पछि स्यारोनले हलिउडले मेरिललाई मात्र आदर्श बनाउन नहुने धारणा राखेकी थिइन् । स्यारोन र मेरिलले पहिलो पल्ट स्टिभन सोडेरबर्गको ‘ दि लोनड्रोम्याट’मा सँगै काम गरेका छन् । यद्यपि उनले मेरिल असल मानव र उम्दा अभिनेत्री भएको बताएकी थिइन् ।
‘तपाईंले भन्नु भयो कि मैले अन्ततः मेरिल स्ट्रिपसँग काम गर्ने मौका पाएँ,’ स्टोनको अन्तर्वार्ता उद्धृत गर्दै इन्डिवायरले लेखेको छ, ‘ तपाईंले भन्नु भएन कि मेरिलले अन्ततः स्यारोन स्टोनसँग काम गर्ने मौका पाइन् । अथवा हामीले एकअर्कासँग काम गर्न पायौँ । सधैंभरी यस्तो बनाइयो कि हरकोही मेरिलसँग काम गर्न चाहान्छ । मलाई लाग्दैन कि उनलाई यो कुरा मन पर्छ ।’
स्टोनले थपेकी छिन्, ‘जसरी तपाईंले मलाई प्रश्न गर्नुभयो उत्तर पनि त्यसैमा छ । यो सारा कुरा यसरी सेट गरिएको छ कि हामी सबैले मेरिलको इष्र्या गर्नुपर्छ वा प्रशंसा । किनकि मेरिल मात्र अब्बल हुन् र हामी सबैले मेरिलसँग प्रतिस्पर्धा गर्नुपर्छ । म मान्छु मेरिल गज्जबकी मान्छे र अभिनेत्री हुन् तर यहाँ अरु अभिनेत्री पनि छन् जो मेरिल जत्तिकै प्रतिभाशाली छन् । मेरिलको मात्र महिमामण्डन गर्ने कुरा भनेको हलिउडले महिलालाई गर्ने व्यवहारको अंग हो ।’
‘भ्वोइला डेभिस मेरिल स्ट्रिप जत्तिकै उम्दा अभिनेत्री हुन् । एम्मा थमसन, जुडी डेभिस, ओलिभिया कोलम्यान, केट विन्सलेट सब एकसेएक छन् । तर, तपाईं भन्नुहुन्छ मेरिल स्ट्रिप मात्र,’ उनले भनेकी छिन्, ‘ म मेरिलभन्दा राम्रो भिलेन हो । त्यो कुरा सायद मेरिल पनि स्वीकार्छिन् । ‘बेसिक इन्स्टिंक्ट’ वा ‘क्यासिनो’मा मेरिलले केही गरी पनि मैले जस्तो राम्रो गर्न सक्दिनथिन् । त्यो कुरा उनलाई पनि थाहा छ ।’
स्यारोनले यसका बावजुद पनि हामी मेरिलभन्दा बढी सोच्न नसक्ने भन्दै गुनासो गरेकी थिइन् । पनामा पेपर्स काण्डको बारेमा बनेको ‘दि लोनड्रोम्याट’ सन् २०१९ मा प्रदर्शन भएको थियो । यो फिल्म नेटफ्लििक्समा उपलब्ध छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया