कला

गायक खनालको तीज गीत 'नक्कले साईली' सार्वजनिक [भिडियो]

इकागज |
साउन २५, २०८१ शुक्रबार १७:७ बजे

काठमाडौँ- नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा कलाकारहरूले तीजका गीतहरू एक पछि अर्काे गर्दै बजारमा ल्याएका छन् ।

नेपालीहरूको संस्कार, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यका साथ गायक तथा सर्जक मोतिराज खनालले पनि तीजको नयाँ गीत 'नक्कले साईली' सार्वजनिक गरेका छन् । गीतको शब्द, संगीत स्वयं खनालले नै गरेका हुन् । गीतमा स्वर खनाल र कल्पना विष्टको रहेको छ । धेरै गीतहरूबाट चर्चा कमाइसकेकी गायिका कल्पनाले पहिलो पटक तीजको गीतमा आवाज दिइएकी हुन् ।


गीतको संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् । उक्त गीत इरा स्टुडियोमा रेकर्ड गरिएको छ । यस्तै सुरज खनालको निर्देशमा भुवन के पोखरेल, अनिल पौडेल, जुना कार्की र सुबुही शाहीले अभिनय गरेका छन् । भिडियो छायांकन शिव विकले गरेका हुन् भने कोरियोग्राफको काम देवेन्द्र कुंवरले गरेका छन् । दृश्य सम्पादन विनोद बमले गरेका हुन् ।

उक्त गीत सान्स फिल्म युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यस गीतमा नाचौँ नाचौँ लाग्ने मौलिक संगीत र गायकीपनले यसपालिको तीजमा दिदीबहिनीहरूको रोजाइको गीत बन्न सक्ने छनक यस गीतले दिएको सर्जकको विश्वास छ । गीतमा माया प्रेम भएन भने जीवन निरस हुन्छ त्यसैले प्रेमलाई जीवन्त बनाउनु पर्छ । सिंगार्नु पर्छ । प्रेम बिनाको जिन्दगी अधुरो हुन्छ भन्ने सन्देश दिएको छ । छाडा र उत्ताउलो गीत बनाएर समाज भड्काउन खोज्ने विकृति ल्याउन खोज्ने कलाकारहरूलाई पनि यो गीतले सही मार्गमा हिँड्न प्रेरित गर्ने आकलन गरिएको छ । बुबाआमा घरपरिवार र छिमेकीसँग बसेर गीत हेर्न र सुन्न रमाइलो गर्न सकियोस् र हाम्रो पहिचान कला र सांस्कृतिक क्षेत्रमा उत्साह थपिएको हेर्न चाहने सबैको लागि यो गीत रोजाइको बन्न सक्ने खनालले बताए ।

गायक तथा सर्जक खनाल नै रहेको यस तीज गीतलाई बुधबार (हिजो) स्मार्ट दरबारमा एप्पल मिडिया एण्ड एडभरटाइजिङ्गका प्रा.लि.अध्यक्ष श्रीधर खनालको अध्यक्षतामा जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी, मेघा कलेजका अध्यक्ष गोपाल खनालबाट सार्वजनिक कार्यक्रमका मार्फतबाट गरिएको हो ।

गीत सार्वजनिक तथा कलाकारहरूलाई प्रशंसा पत्र वितरण कार्यक्रमको उद्घोष गायक बैकुण्ठ महतले गरेका थिए । कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको खनालले बताए ।

 

भिडियो:


Author

थप समाचार
x