कला

आचार्यको 'रुनु न हाँस्नु’ सिरिजको ट्रेलर सार्वजनिक, भदौ ११ गतेदेखि प्रसारण हुने

इकागज |
भदौ ५, २०८१ बुधबार १२:५० बजे

काठमाडौँ- कलाकार शंकर आचार्यको नयाँ टेलिसिरिज 'रुनु न हाँस्नु' दर्शकमाझ आउँदैछ । सिरिज भदौ ११ गतेदेखि हरेक मंगलबार बेलुका ७ बजे वरिष्टे इन्टरटेनमेन्ट युट्युब च्यानलबाट प्रसारण हुने निर्माण पक्षले जानकारी दिएको छ ।

भ्रष्टाचार र घुसखोरीले गर्दा देशमा बस्न र बाँच्न गाह्रो भएको यथार्थलाई आचार्यले व्यंग्यात्मक शैलीमा सिरिजमा प्रस्तुत गरेको बताएका छन् । 


सिरिजले जनचेतना फैलाउने उद्देश्यका साथ भ्रष्टाचारले देश र जनतालाई पारेको प्रभावलाई सरल र हाँस्य रसमा प्रस्तुत गरेको निर्माण पक्षको दाबी छ । 

'रुनु न हाँस्नु’ सिरिजमा शंकर आचार्य, रमेश अधिकारी, अप्सरा जोशी, गोकुल सुवेदी, सावित्रा चिलुवाल, सपेन्द्र धिताल, अञ्जली थापा, गणेश धिताल, अश्मिता रसाइली, सुदर्शन आचार्य, किशोर बराइली र मेलिना श्रेष्ठलगायत कलाकारहरूले अभिनय गरेका छन् ।

शंकर आचार्यले रचना गरेको गीतमा राज आचार्यले संगीत दिएका छन् भने भिसम आचार्यले एरेन्ज तथा स्वर दिएका छन् । सिरिजको छायांकन राहुल राईले गरेका हुन् भने सम्पादन राजेन्द्र मानन्धर र सुजित श्रेष्ठले गरेका छन् ।

सिरिजको ट्रेलर गाईजात्राको दिन अर्थात् ४ भदौ २०८१ मा सार्वजनिक गरिएको थियो । 

ट्रेलरमा खराब नेताहरूको हातमा देश पुग्दा परेको असर, वैदेशिक रोजगार, यसले पारेको प्रभावबारे देखाइएको छ । विदेश गएपछि आमा मर्दा दाहसंस्कार गर्न आउन पनि नचाहेका छोराको कुराले विक्षिप्त बुवाको अवस्था देख्न सकिन्छ ।

निर्मला पन्तको बलात्कार र हत्यापछि न्याय नपाएको कुरालाई पनि व्यङ्ग्यात्मक रुपमा देखाइएको छ । काठमाडौँका मेयर बालेन्द्र साह बालेनले राम्रो काम गरेपनि राजनीतिक दलका नेताहरूले खेदेको कुरा देखाउन खोजिएको छ । यसका अलावा पारिवारिक र सामाजिक विकृति विसंगतिबारे पनि सिरिजमा देख्न सकिने ट्रेलरबाट प्रष्ट हुन्छ ।

यसको छायांकन काभ्रे र भक्तपुरको सीमास्थित काँक्राबारीमा गरिएको छ । 'रुनु न हाँस्नु’ले दर्शकहरूलाई हँसाउने मात्र होइन सामाजिक सन्देश पनि पुर्‍याउने उद्देश्य राखेको निर्माण टिमले जानकारी दिएको छ ।

'रुनु न हाँस्नु’ सिरिजको निर्माण, लेखन, र निर्देशन शंकर आचार्यले गरेका हुन् । शंकर आचार्य नेपाली चलचित्र क्षेत्रका ख्यातिप्राप्त अभिनेता तथा निर्देशक हुन् ।

उनले २०३४ सालदेखि काभ्रेपलाञ्चोकको सानो स्टेजबाट कलाकारिता यात्रा सुरु गरेका थिए । उनले दुई दर्जनभन्दा धेरै चलचित्रहरूमा अभिनय गरेका छन् भने थुप्रै टेलिचलचित्रमा समेत देखिएका छन् । आचार्य नेपाली चलचित्र र सिरियल उद्योगमा आफ्नो अभिनयद्वारा नेपाली दर्शकको मन जित्ने लोकप्रिय कलाकार हुन् । उनले सिरिज, सिरियल, र चलचित्रहरूमा गरेको अभिनयले दर्शकको मन जितेको छ । 

उनको नयाँ सिरिज 'रुनु न हाँस्नु'ले पनि दर्शक धेरै माया पाउने विश्वास गरिएको छ ।  यो सिरिजले कतिको दर्शकको मन जित्ला त्यो भने हेर्न बाँकी नै छ ।

 


Author

थप समाचार
x