कविता
साथी, अझै कति नाङ्गिन्छौ ?
साथी,
तिम्रो प्रगतिमा खुब रमाउँथेँ
तिम्रो उचाइमा गर्व गर्थें
तिम्रो सफलतामा म आल्हादित हुन्थेँ
तिम्रा ती सम्मानमा कति खुसी हुन्थेँ
साथी,
कति भ्रममा राखेका रहेछौ
कति विघ्न झुटको खेती गरेका रहेछौ
म त दिग्भ्रममा रहेछु
म त असत्यमा रहेछु
साथी,
तिम्रा ती झुठहरू
तिम्रा ती आडम्बरहरू
तिम्रा ती बनावटी कुराहरू
तिम्रा ती मन्त्रमुग्धी बयानहरू
साथी, तिम्रै कारण
कति जनाबाट धृतराष्ट्र कहलिएँ
कतिका नजरमा दुर्वासा साबित भएँ
कतिले शकुनि भने
कतिले नारद
सब तिम्रा कारण
सब तिम्रा खातिर
धन्न,
मेरो अहोभाग्य,
तिम्रो दुर्भाग्य
आज
तिम्रो असली रूप छर्लङ्ग पारिदियो
तिम्रो नाङ्गो रूप प्रस्ट्याइदियो
तिम्रो वास्तविकता थाहा पाएँ
तिम्रो छद्म रूपको भेउ पाएँ
म त शरमले पानी पानी भएँ
तर यो त तिम्रो बानी पो रहेछ
चिल्लो घसेर हुन्छ कि
चाप्लुसी गरेर हुन्छ
सगर चढ्नु तिम्रो उद्यम रहेछ
त्यही मौकामा खुट्टा तान्नु कला रहेछ
रङ्ग फेर्दै हिँड्ने छेपारा अनि
हजार जिब्रा भएका शेषनाग पनि
तिमी देखेर छक्क परेको होला
तिम्रो हरकत देखेर जिब्रो टोक्दै होला
साथी,
पुग्यो अब
घाँटी-घाँटीसम्म आइसक्यो
पापको घडाभरि नै सक्यो
अब तिम्रा लागि शिखण्डी बन्नेछैन
तिम्रा खातिर कर्ण बन्ने छैन
तर पनि,
तर पनि
हाम्रो मित्रता जारी रहनेछ
हाम्रो भाइचारा कायम रहनेछ
बस्
म यति सचेत गराउँछु
तिमी त निर्लज्ज छौ नै
थोरै भए नि लाज त बचाइराख
तिमी त बेइज्जती छौ नै
बेइज्जत शब्दको इज्जत त राख
(एकजना आत्मीयले राष्ट्रियस्तरको पुरस्कार हात पार्न गरेका तिकडम थाहा पाएपछि स्वतःस्फूर्त रूपमा फुरेको कविता ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया