कला

गायक तथा संगीतकार माणिकरत्नलाई १ लाखसहित अजर–अमर सम्मान

इकागज |
असार १५, २०७८ मंगलबार ११:४३ बजे

काठमाडौं :  गायक तथा संगीतकार आदरणीय माणिक रत्न स्थापितलाई संगीतकार संघले १ लाख १ सय ११ रुपैंयाँ नगदसहित सम्मान गर्ने घोषणा गरेको छ । संघले सोमबार माणिकरत्नको घरमै गई सम्मानपत्र तथा नगद हस्तान्तरण गरेको जनाएको छ । संघले केही समय अघिदेखि सांगीतिक क्षेत्रमा लामो योगदान गरेका स्रष्टालाई अजर–अमर सम्मान प्रदान गर्दै आएको छ । 

बि सं १९९४ सालमा काठ्माडौको मख्खन टोलमा जन्मिएका माणिकरत्नले २००७ सालमा बालगीतमा स्वर प्रदान गरेर औपचारिक रुपमा गायन यात्रा सुरु गरेका थिए । उनका ‘त्यो खोलाको सङ्लो पानी’, ‘म पनि त मानिस हुँ’, ‘न आउ जुन कोठामा राति’ जस्ता दर्जनांै गीत लोकप्रिय छन् ।


 २०१३ सालदेखि माणिकरत्नले  प्रेमध्वज प्रधानसँग मिलेर थुप्रै गीतमा सहकार्य गरेका थिए । ‘प्रेम माणिक’ नामले कैयौँ कालजयी संगीत सिर्जना गरेको यो जोडीको सहकार्य रहेको ‘गोरेटो त्यो गाउँको’ प्रतिनिधी गीत हो । यो गीतको संगीत माणिकरत्नको हो भने आवाज प्रेमध्वजको ।

संघले महामारीका कारण सार्वजनिक कार्यक्रम नगरी घरमै गई सम्मान र नगद हस्तान्तरण गरेको थियो ।  सोमबार संघका संरक्षक शम्भुजित बास्कोटाको नेतृत्वमा प्रथम उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानको समूहले ललितपुर खुमलटारस्थित निवासमा गई हस्तान्तरण गरेको हो । 


Author

थप समाचार
x