कला

‘मोहन सर : व्यक्ति र कृति’ पुस्तक प्रकाशित

इकागज |
असोज २०, २०८१ आइतबार १४:८ बजे

काठमाडौँ- सल्यानका शिक्षक मोहनसिंह थापाबारे पुस्तक प्रकाशन भएको छ । ‘मोहन सर : व्यक्ति र कृति’ पुस्तक शनिबार सल्यानमा कर्णाली प्रदेश मन्त्री सुरेश अधिकारीलगायतले विमोचन गरेका हुन् । विश्व शिक्षक दिवस तथा मोहनसिंह थापाको जन्मदिनको अवसर पारेर पुस्तक लोकार्पण गरिएको हो ।

६१ वर्षकै अल्पायुमा मोहन बितेपछि उनका शिष्य तथा शुभेच्छुक भावविह्वल बनेका थिए । तिनै शुभेच्छुकहरूमध्ये ४५ जनाले पुस्तकमा मोहनबारेका स्मृति बाँडेका छन् । पुस्तक लोकार्पण गर्दै मन्त्री अधिकारीले भने, ‘मैले स्कुल–क्याम्पसमा मात्र होइन, घरमा पनि उहाँसँगै पढेँ । उहाँले ज्ञान बाँड्न कहिल्यै कञ्जुस्याइँ गर्नु भएन । उहाँले जीवनलाई फिल्मका रुपमा अथ्र्याउनुहुन्थ्यो । म आज यसरी यहाँ बोल्न पाउनु पनि मोहन सरकै आशीर्वाद हो ।’


उनकै प्रेरणाले आफू स्ववियु निर्वाचनमा होमिएको स्मरण गर्दै मन्त्री अधिकारीले गुरुप्रतिको यस्तो सम्मानको परम्परा सल्यानमा पनि सुरु हुनु गौरवमय भएको बताए ।

कार्यक्रममा सल्यानमा शैक्षिक, राजनीतिक, समाजसेवा, प्रशासन, व्यापारको क्षेत्रमा सक्रिय ५० जनाभन्दा बढीको सहभागिता थियो भने राजनीतिज्ञ डिल्लीराज रेग्मी, वीरबहादुर सेजवाल, किशोर हमाल तथा लेखक देवराज आचार्यलगायतले मोहन सरको व्यक्तित्वबारे प्रकाश पारेका थिए ।

पूर्ववडाध्यक्ष समेत रहेका समाजसेवी केशवसिंह श्रेष्ठले पुस्तकमाथि टिप्पणी गरेका थिए । मोहन सरका भाइ तथा पुस्तकका संरक्षक भूपेन्द्रसिंह थापाले उनका विद्यार्थीहरूले सरबारे केही गर्छौँ भनेपछि आफूले अनुमति दिएको बताए । कार्यक्रम पुस्तकका सम्पादक प्रवीण भण्डारीले सञ्चालन गरेका थिए ।

सम्पादक भण्डारीले भने, ‘मोहन सरबारेको यो पुस्तक सुरुवात मात्र हो । अग्रजको सम्मानमा हामी उहाँहरू जीवित हुँदै अभिनन्दन ग्रन्थ पनि प्रकाशन गर्ने सोचमा छौा । तर, सल्यानको लेखन–पठन संस्कृति भने अब विस्तार र विकास भने हुनैपर्छ । ज्ञान उत्पादन र हस्तान्तरणविना समाज विवेकी र चेतनशील हुन सक्दैन । भौतिक विकाससँगै बौद्धिक विकास पनि हुनुपर्छ ।’ भण्डारीले भावी दिनमा आफू पुस्तक लेखन, सम्पादन, प्रकाशन, अनुसन्धानमा सबैसित सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रम मोहनको तस्बिरमा पुष्पार्पण गर्दै आरम्भ भएको थियो । पुस्तकमा मोहन सरबारे ४५ स्मृति प्रकाशित छन् । ती सबै स्मृतिहरूको सार छ- उनी यस्तो शिक्षक थिए जो आफ्नो औपचारिक अध्ययनभन्दा माथिल्लो तहमा सल्यान क्याम्पसमा पढाउँथे । उनी यस्तो शिक्षक थिए जो बिहान सबेरैदेखि राति अबेरसम्म पढाएको पढाउने गर्थे ।

उनी यस्तो शिक्षक थिए जो घरमा पढ्न आउने कसैबाट पनि ट्युसन फि लिन्नथे । उनी यस्तो शिक्षक थिए जसले जीवनभर पढाइरहे तर नियमित तलब–सुविधा, पेन्सन, स्थायित्व पाएनन् । उनी यस्तो शिक्षक थिए जो आफूले बिहे गरेपछि आमाबाबाट टाढिनुपर्ने हो कि भन्ने डरले आजीवन बिहे नगरी बसे । उनी यस्तो शिक्षक थिए जो अति साधारण परिवारमा हुर्किंदै एसएसलीमा जिल्लालाई पहिलो पटक प्रथम श्रेणीयुक्त जिल्ला बनाए ।

पुस्तकमा मोहनको अप्रकाशित डायरीका पाना पनि समाविष्ट छन् । हाललाई प्रमाणिक बनाउन केही पानाहरू जस्ताको तस्तै छापिएको तर आगामी दिनका उनका सम्पूर्ण पानाहरू, दस्तावेज र अन्य स्मृति समेटी प्रकाशन गर्न सकिने पुस्तक प्रकाशन टोलीले बताएको छ ।

पुस्तकलाई मोहनका भाइ भूपेन्द्रसिंह थापा तथा बहिनी सोबिता थापाको आडभरोसामा उनका शिष्य प्रवीण भण्डारी र विमल आचार्यले सम्पादन संयोजन गरेका हुन् । पुस्तकमा आमोदशरण गौतम, कृष्णबहादुर श्रेष्ठ, कृष्णराज डीसी, केशव न्यौपाने, केशवराज देवकोटा, क्षितिज श्रेष्ठ, गुप्ती डाँगी, गोविन्द हमाल, चेतन राई, टेकबहादुर बुढाथोकी, डिल्लीराज रेग्मी, तुफानबाबु श्रेष्ठ, दिलीपकुमार राई, नर्मदा आचार्य, पुरुषोत्तम गिरी, पूर्णबहादुर बुढाथोकी, प्रमिल हमाल, प्रवीण भण्डारी, बुद्धिप्रसाद थापा, भूपेन्द्रसिंह थापा, भोलानाथ खड्गी, महेश देवकोटा, माधवविक्रम जीसी, मोहन खड्का, युवराज बस्याल, रमेशकुमार सिंह, वसन्त शाह, वासुदेव आचार्य, विजेता थापा, विपिन आचार्य, विमल आचार्य, वीरबहादुर सेजवाल, शिला थापा, शैलेश श्रेष्ठ, श्यामकृष्ण आचार्य, श्याम विक, श्रीमन्नारायण गौतम, सनतकुमार शर्मा, सन्तोष विश्वकर्मा, समीर शाह, सुधा आचार्य, सुरेन्द्रबहादुर श्रेष्ठ, सोबिता थापा, हरिहर महर्जन र हिमबहादुर खड्काका लेख छन् ।

पुस्तक आईएसबीएन नम्बरसहित काठमाडौँको प्रकाशन संस्था पाँचपोखरीले प्रकाशन गरेको हो । पुस्तक देशका ठूला पुस्तकालय तथा जिल्लाका शिक्षालय, पुस्तकालयमा उपलब्ध हुनेछ । मोहन सर करुणाशील, विवेकी र सहयोगी व्यक्तित्व भएको हुँदा पुस्तक प्रकाशनमा कसैबाट पनि आर्थिक सहयोग नलिई परिवारले नै सम्पूर्ण खर्च बेहोरेको छ ।

साथै पढ्न चाहनेलाई पुस्तक निःशुल्क प्रदान गरिने पनि प्रकाशन टोलीले बताएको छ । असाधारण प्रतिभायुक्त एक साधारण शिक्षकलाई मरणोपरान्त यसरी स्वतःस्फूर्त रुपमा पुस्तकमार्फत जीवन्त बनाएकामा सल्यानमा हर्षोल्लास छाएको छ । यसरी नै अरुअरु व्यक्तित्वबारे पनि पुस्तक आउनुपर्नेतर्फ संकेत गरिएको छ । 


Author

थप समाचार
x