कला

विद्या बालन अब अस्करको भोटर, अस्करमा थपिए ३ सय ९५ नयाँ सदस्य

इकागज |
असार १८, २०७८ शुक्रबार १२:२८ बजे

लसएन्जल्स :  बलिउड अभिनेत्री विद्या बालनलाई अस्करले नयाँ सदस्य चयन गरेको छ । अस्करको आयोजना गर्दै आएको ‘दि एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेज’ सन् २०२१ मा सदस्य संख्या ९ हजार बनाउने लक्ष्यसहित सुरु गरेको सदस्यता वितरणमा बलिउडबाट विद्या बालन पनि सदस्य स्वीकृत भएकी हुन् ।

एकेडेमीले विद्यासँगै बलिउड निर्माता एकता कपुर र शोभा कपुरलाई पनि सदस्यमा आमन्त्रण गरेको छ । बालाजी टेलिफिल्मकी मालिक एकता र शोभा आमा छोरी हुन् । 


अस्करमा लागि भोटिङ गर्ने सदस्यमा अमेरिकन र गोराहरूको मात्र बाहुल्य भएको भन्दै केही समययता आलोचना हुने गरेको छ । युरोपियन र अमेरिकनको बाहुल्य रहेको सदस्यले एसिया वा अफ्रिकन देशको मूल्य मान्यता नबुझ्दा धेरै राम्रा फिल्म मनोनयनमा नपरेको गुनासो बढ्दो क्रममा थियो । यही समस्यालाई सम्बोधन गर्न एकेडेमीले सदस्यलाई समावेशी बनाउने निर्णय गरेको थियो । 

नयाँ थप गरिएका सदस्यमा ४६ प्रतिशत महिला र ३९ प्रतिशत जनजाति रहेको एकेडेमीले जनाएको छ । त्यसैगरी ४९ देशका ५३ अन्तर्राष्ट्रिय सदस्य एकेडेमीको सदस्यको रुपमा स्वीकृत भएको एकेडेमीले जनाएको छ । 

‘क्लास अफ २०२१’ नाम दिइएको नयाँ सदस्यमा ८९ जना अस्करको मनोनयनमा परेका कलाकार तथा प्राविधिक परेका छन् भने २५ जना अस्कर विजेता रहेका छन् । एकेडेमीले कलाकार, कास्टिङ निर्देशक, छायांकार, कस्ट्युम डिजाइनर, निर्देशक, डकुमेन्ट्री, कार्यकारी, सम्पादक, मेकअप तथा हेयर स्टाइलिस्ट, मार्केटिङ तथा पब्लिक रिलेसन, संगीत, निर्माता, प्रडक्सन डिजाइन, सर्ट फिल्म तथा फिचर एनिमेसन, साउन्ड, भिज्युवल इफेक्ट्स, लेखक आदि विधाका सदस्य थपेको हो । 


Author

थप समाचार
x