कला

हिरोइनले पाउने पैसामा सोनम कपुर पनि असन्तुष्ट

इकागज |
असार २२, २०७८ मंगलबार १२:५ बजे

मुम्बई :  हिरो र हिरोइनले पाउने पैसामा विश्वभरकै उद्योगमा बहस छेडिएको छ । हिरो बराबर नै काम गर्ने भए पनि हिरोइनको पैसा किन कम ? भन्दै बेलाबखतमा हिरोइनले विद्रोह गरिरहन्छन् ।

बलिउडमा अझ यो ग्याब धेरै छ । सँगैमा हिरोले १२÷१३ करोड लिँदा हिरोइनले १ करोड पनि पाउँदैनन् । जब हिरोइनले हिरो बराबर पैसा माग्छन्, भाउ खोजेको अर्थ लगाइन्छ ।अघिल्लो हप्ता एउटा फिल्मका लागि करिना कपुरले १२ करोड मागेपछि बलिउडमा तरंग नै आएको थियो ।


केहीले करिनाले उनले त्यत्रोविधि पैसा माग्न नसुहाउने बताइरहँदा तापसी पन्नू जस्ता अभिनेत्रीले करिनाको समर्थन गरेका थिए । यही सोच अभिनेत्री सोनम कपुरले पनि अभिव्यक्त गरेकी छिन् । उनले पनि हिरोको तुलनामा हिरोइनले अत्ति कम पैसा पाउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन् । 

भारतीय पत्रिका मिड डेसँगको अन्तर्वार्तामा उनको भनाइ थियो, ‘हिरो–हिरोइनको पैसामा यत्ति धेरै ग्याप हुनु हास्यास्पद हो ।’ उनको थप तर्क थियो, ‘बलिउडमा हुने पे ग्याप हास्यास्पद छ । म परम्पराको खिलाफमा छु । यसरी बोल्दा मैले फिल्म पाउँदिन भने पनि मलाई केही मतलब छैन ।’

विवाह गरेर ज्यादाजसो समय श्रीमान्सँग लन्डनमा बस्दै आएकी सोनमले सुजय घोषको निर्देशन रहेको ‘ब्लाइन्ड’मा काम गरेकी छिन् । यो फिल्ममा सोनम अनुसन्धान प्रहरी अधिकारीको भूमिकामा देखिनेछन् । भर्खरै मात्र यो फिल्मको सुटिङ सकिएको छ । सोनमले आफ्नै प्रडक्सन हाउसबाट सिनेमा पनि बनाइरहेकी छिन् । ‘वीरे दि वेडिङ’ सोनमको प्रडक्सनले बनाएको पछिल्लो फिल्म हो । 
 


Author

थप समाचार
x