कला

'पारस’ भन्दा पहिला ‘एक्स नाइन’ गर्दै अनमोल, तिहारपछि सुटिङ

इकागज |
असार २७, २०७८ आइतबार १३:१२ बजे

काठमाडौं :  महामारीका कारण रोकिएको ‘पारस’ थप पर धकेलिएको छ । अनमोल केसीले बीचैमा मुकुन्द भट्टको निर्देशन रहने फिल्म ‘एक्स नाइन’ गर्ने भएपछि ‘पारस’को सुटिङ अनिश्चित बनेको हो । अनमोलले ‘एक्स नाइन’ गर्ने लगभग तय भएको तर लिखित सम्भलौता भने गर्न बाँकी रहेको इकागजलाई बताए । 

‘काम गर्ने कुरा लगभग सहमति भएको छ । तर सम्झौता भने हुन बाँकी छ । केही दिनमै त्यो पनि गर्ने कुरा भएको छ,’ अनमोलले भने । अनमोलले यो फिल्मका लागि कीर्तिमानी रकम लिन लागेको चर्चा छ । उनलाई निर्माताले ७५ लाख अफर गरेको चर्चा थियो । उनले पारिश्रमिकको विषयमा भने नबोल्ने बताए । 


‘यो विषयमा चैं म बोल्दिन । जे छ त्यसमा हामी लिने दिने दुवै सहमत छौं,’  उनले भने । फिल्ममा बलिउड अभिनेता सुनिल सेठ्ठीले पनि अभिनय गर्ने चर्चा थियो । निर्देशक मुकुन्द भट्टले खबरको पुष्टि गरे पनि इकागजले सुनिल सेठ्ठीसँगको इमेल वार्तामा भने खबरमा सत्यता नभएको जवाफ दिएका थिए ।  ‘यस्तो कुनै कुरा छैन,’इकागजको मेलमा सुनिल सेठ्ठीले जवाफ दिएका थिए ।

अनमोलका साथ निर्देशक भट्ट

मुकुन्द भट्टले अनमोलसँग साउनको पहिलो हप्ता सम्झौता गर्ने तयारी भइरहेको बताए । सुनिल सेठ्ठीको सवालमा पनि उनले केही दिनमै मुम्बई गएर सम्झौताको काम सकाउने इकागजलाई जानकारी गराए ।

‘सुनिल सेठ्ठीको म्यानेजरले मुम्बई बोलाइरहेको छ । फ्लाइट नमिलेर जान सकिइरहेको छैन । त्योसँगै उसको पैसा यति धेरै छ कि हामी त्यसमा पनि नेगोसिएट गर्ने प्रयास गरिरहेका छौं,’ मुकुन्दले भने ।

फिल्ममा सौगात मल्ल, पुष्प खड्का र नबिन लम्साल,अनुपविक्रम शाही र राज कटुवाल पनि  महत्वपूर्ण भूमिकामा रहनेछन् । नेपालसँगै युरोपका विभिन्न सहर र आबुधाबीमा सुटिङ हुने फिल्मको तिहारपछि सुटिङ सुरु हुने अनमोलले जनाएका छन् ।   पुरुष कलाकारको जम्बो टोली रहने फिल्ममा प्रियंका थापा एक्लो हिरोइन रहनेछन् ।

मुकुन्द भट्टले ‘वार’ र लप्पन छप्पनका दुई सिरिज निर्देशन गरेका छन् । दोस्रो भाग भने कोरोनाका कारण प्रदर्शन हुन सकेको छैन । ‘पारस’सँगै अनमोलले ‘माइतीघर २’ र ‘एन्टि हिरो’ पनि खेल्ने घोषणा गरेका थिए । तर, यी फिल्मको पनि सुटिङ कहिले हुने टुंगो छैन । योमध्ये ‘माइतीघर २’का निर्देशक सुबोध चोपडाको कोरोनाका कारण केही महिनाअघि मुम्बईमा निधन भएको थियो । 

 


Author

थप समाचार
x