कला

कान्स फिल्म फेस्टिभलले खोल्यो आवेदन

इकागज |
मंसिर १६, २०७७ मंगलबार १७:२८ बजे

विश्वमै प्रतिष्ठित मानिने फ्रान्सको कान्स फिल्म फेस्टिभलले मंगलबारदेखि आवेदन खुल्ला गरेको छ । फेस्टिभलले एक सूचना जारी गर्दै आउँदो वर्षका लागि कान्समा प्रतिस्पर्धा गर्न चाहाने फिल्मकर्मीका लागि फिल्म पठाउने समयसीमा सार्वजनिक गरेको हो । सार्वजनिक सूचना अनुसार फिल्मकर्मीले आउँदो फ्रेब्रुअरी महिनादेखि आफूले बनाएका फिल्म प्रतिस्पर्धाका लागि पठाउन सक्नेछन् ।

फेस्टिभलको वेबसाइटमा राखिएको सूचना अनुसार फिल्म स्कुल पढिरहेका विद्यार्थीले फ्रेब्रुअरी १५ सम्ममा आफ्ना फिल्म पठाइसक्नु पर्नेछ भने लघु फिल्मले मार्च १ सम्ममा आफ्ना फिल्म पठाउन सक्नेछन् । फिचर फिल्मतर्फ प्रतिस्पर्धा गर्न चाहने फिल्मकर्मीले भने मार्च ५ सम्ममा आफ्नो फिल्म कान्स पठाइसक्नुपर्नेछ ।  कान्सको ७४ औं संस्करण अर्को सालको मे ११ देखि २२ सम्म चल्नेछ । 


नेपाली फिल्मकर्मीबीच पनि कान्स फिल्म फेस्टिभल लोकप्रिय रहँदै आएको छ । गत साल प्रियंका कार्कीले कान्सले निम्त्याएर त्यहाँ पुग्ने पहिलो नेपाली कलाकार नै आफू भएको दाबी गरेपछि सर्वसाधारणबीच पनि कान्स फिल्म फेस्टिभल परिचित बनेको थियो । तर, प्रियंकाको कान्सको निम्तोमा पुग्ने पहिलो नेपाली कलाकारवाला दाबी कालान्तरमा झुठो निस्किएको थियो । प्रियंका कान्सको निम्तोमा नभइ त्यहीँ हुने कुनै साइड इभेन्टमा सहभागिताका लागि पुगेकी थिइन् ।

बरु गतसाल नै फिडेल देवकोटा निर्देशित फिल्म ‘काङलिङ’ कान्सको एटलियर डे सिने फाउन्डेसनमा विश्वभरबाट छानिएका १५ फिल्ममध्ये एकमा पर्न सफल भएको थियो । त्यसैगरी पूजा गुरुङ र विभूषण बस्नेतको निर्माणाधिन फिल्म ‘दि ह््वेल टाइमर्स’ पनि दुई वर्षअघि यही सेक्सनमा छानिएको थियो । मीन भामले निर्माण गर्ने तयारी गरिरहेको ‘अ इयर अफ कोल्ड’को स्क्रिप्टले पनि दुई वर्षअघि कान्सकै सिनेफाउन्डेसनबाट ७५ हजार युरो पुरस्कार जित्न सफल भएको थियो । 


Author

थप समाचार
x