कला

आर्यनसँग रोमान्स गर्दै उपासना

इकागज |
मंसिर १७, २०७७ बुधबार ९:१३ बजे

काठमाडौं : अभिनेत्रीबिनै गत हप्ता मात्र आर्यन सिग्देलले आफ्नो नयाँ फिल्म‘डिसेम्बर फल्स’को घोषणा गरेका थिए । मंसिर ६ मा लाजिम्पाटस्थित एक होटलमा सानो समारोहका बीच भएको घोषणा कार्यक्रममा निर्माण टिमले केही दिनमै अभिनेत्रीको टुंगो लाग्ने बताएको थिए । अन्ततः भने बमोजिम नै निर्माण टिमले आर्यनका लागि हिरोइनको टुंगो लगाएको छ ।

निर्माण टिमले दिएको जानकारी अनुसार अब उपासना सिंह ठकुरीले आर्यनको जोडीको रुपमा काम गर्नेछिन् । निर्माता रामप्रसाद रिजालले उपासनासँग सम्झौता भएको जानकारी गराउँदै फिल्मका मुख्य कलाकारको कास्टिङको काम सकिएको बताएका छन् । निर्माण टिमले यसअघि नै फिल्ममा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, नरेश भट्टराई, दयाराम दाहालको अभिनय रहने जानकारी गराइसकेको छ । 


लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको फिल्मको निर्देशन प्रविन झा र छायांकन रवि नाइडुले गर्नेछन् । दुवै भारतको फिल्म उद्योगमा काम गर्ने र सुटिङको तयारीका लागि केही दिनपछि नेपाल आउने निर्माण टिमले जानकारी गराएको थियो । राजकुमार भट्टसमेत निर्माता रहने फिल्मका पटकथा तथा संवाद केदार भुषालले लेखेका हुन् । फिल्म आउँदो साउन महिनामा प्रदर्शन गर्ने निर्माण टिमले बताएको छ ।अनमोल केसी अभिनित ‘क्याप्टन’बाट नेपाली फिल्ममा प्रवेश गरेकी उपासनाको यो तेस्रो फिल्म हो । उनले यसअघि ‘कबड्डी’को तेस्रो शृंखलामा दयाहाङ राईको जोडी भएर अभिनय गरेकी थिइन् । 


Author

थप समाचार
x