कला

शिक्षक, विद्यार्थी र पत्रकारलाई ‘अन्तर्दृष्टि पुरस्कार’

इकागज |
मंसिर १८, २०७७ बिहीबार १४:१९ बजे

काठमाडौं: जापानमा प्राध्यापनरत डा. कमल लामिछानेले विभिन्न तीन विधामा पुरस्कारको घोषणा गरेका छन् । उनले अपाङ्ग दिवसको अवसर पारेर शिक्षक, विद्यार्थी र पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएका छन् । उनले सामुदायिक विद्यालयमा पढाउने शिक्षक, अपांगता भएका विद्यार्थीसँग हातेमालो गर्ने विद्यार्थी र पत्रकारिताका माध्यमबाट अपांगता भएका व्यक्तिप्रति सकारात्मक सोच प्रवाह गर्ने पत्रकारलाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘देशभर समावेशी तथा एकीकृत शिक्षा कार्यक्रम सञ्चालन गर्ने तीन सयभन्दा बढी विद्यालयमा अध्यापनरत शिक्षकमध्ये एक जनालाई ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ र तिनै विद्यालयमा अध्ययनरत अपांग विद्यार्थीहरूसँग काँधमा काँध र साथमा साथ मिलाई हातेमालो गर्दै आएका एक जना अपांगता नभएका विद्यार्थीलाई पुरस्कृत गर्ने गरी ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ स्थापना गरेको छु ।


साथै पत्रकारिताका माध्यमबाट अपांगता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास एवम् समतामूलक समाजको एक अभिन्न अंग बनाउन भूमिका खेल्ने पत्रकारमध्ये एक जनालाई पुरस्कृत गर्न ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ पनि स्थापना गरेको छु ।’डिसेम्बर ३ लाई सन् १९९२ देखि अपांगता क्षेत्रमा अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो ।

अपांगताप्रति समाजमा विद्यमान नकारात्मक, यदाकदा पूर्वाग्रही र विभेदपूर्ण धारणा अनि सोचमा परिवर्तन ल्याउन सकियोस्; आइसोलेसन ९क्ष्कयबितष्यल०को पर्खालको साटो समताको पुल निर्माण गरी सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्वीकार गर्दै सँगसँगै हिँड्न सकियोस् भन्नु नै यी उल्लिखित पुरस्कार स्थापना गर्नुको ध्येय हो ।

‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’, ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ र ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ त्यस कामको एउटा थालनी भएको उनले बताएका छन् । उनले पुरस्कृत व्यक्तित्व छनोटका लागि विभिन्न मापदण्डहरू अनुसरण गरिने र तिनै मापदण्डका आधारमा पुरस्कारका लागि व्यक्तिको छनोट हुने पनि बताएका छन् । लामिछानेको आत्मकथात्मक पुस्तक ‘अन्तर्दृष्टि’ गत वर्ष प्रकाशन भएको थियो । आफ्नो पुस्तककै नाममा उनले पुरस्कार स्थापना गरेका हुन् । 


Author

थप समाचार
x