अन्तत:फिल्मकर्मीले पनि पाउने भए खोप
काठमाडौं : अन्ततः सरकारले फिल्मकर्मीलाई पनि खोप उपलब्ध गराउने भएको छ । चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले यो महिनाको अन्त्यसम्ममा फिल्मकर्मीलाई खोप लगाउने प्रक्रिया सुरु हुने इकागजलाई जानकारी गराए ।
उनले सरकारले कति खोप संख्या भने केही दिनपछि मात्र टुंगो लाग्ने बताए । ‘हामीले ३ देखि ५ हजारको हाराहारीमा खोप मागेका थियौँ । सरकारले खोप उपलब्ध गराउने आश्वासन दिएसँगै हामीले फिल्मसम्बन्धी संघसंस्थालाई सूची बनाउन आग्रह गरेका छौं,’ दाहालले भने, ‘सबैको सूची हेरेर सरकारसँग चाहिने खोप माग्छौं ।’
बोर्डको आग्रहसँगै फिल्मकर्मीका पेसागत संगठनले सूची बनाउने काम सुरु गरिसकेका छन् ।
बोर्डले दुई महिनादेखि चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन ताकेता गर्दै आइरहेको थियो । यही बीचमा बारम्बार पूराना मन्त्री जाने र नयाँ आउने प्रक्रिया चलिरहँदा बोर्डको माग सुनुवाइ हुन सकिइरहेको थिएन । सरकारले चीनबाट खोप आउने क्रम जारी रहेकाले फिल्मकर्मीलाई पनि केही संख्या दिन राजी भएको हो ।
यसरी उपलब्ध खोप बोर्ड अध्यक्ष दाहाल विकास बोर्डको प्राङ्गणमै लगाउने सोचमा छन् । ‘स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर बोर्डमै खोप लगाउने व्यवस्था गर्ने सोचमा छौँ । खोप आएसँगै यो विषय पनि टुंगो लाग्छ,’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया