स्कटल्यान्डका ज्याकब जो नेपालमा अड्किनाले हिन्दी फिल्मको कलाकार बने
भोलि शुक्रबार रिलिज हुनुपर्ने हिन्दी फिल्म ‘मिमी’ ४ दिन अगावै पाइरेसी भएपछि सोमबार साँझ नै नेटफ्लिक्समा रिलिज भयो । सरोगेसी (भाडाको पेट)को विषयमा बनेको यो फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ ।
कसैले ‘मिमी’लाई सन् २०२१ कै राम्रो हिन्दी फिल्म दाबी गरेका छन् त कसैले औसत । कृति सेननको मुख्य भूमिका रहेको यो फिल्मले महिला संवेदना अथवा महिलाको गर्भमाथि अधिकारलाई राम्ररी चिरफार गर्न नसकेको पनि गुनासो छ ।
फिल्ममा पंकज त्रिपाठी, मनोज पहोवा आदि कलाकारको पनि अभिनय रहेको छ । यसैगरी फिल्ममा ५ वर्षका ज्याकब स्मिथको पनि अभिनय रहेको छ जो फिल्ममा कृतिको छोराको भूमिकामा छन् । तर, ज्याकब यो फिल्ममा कलाकार बन्ने कथा नेपालसँग पनि जोडिएको छ ।
पहिलो लकडाउनको समयमा महिनौं नेपालमा रोकिएको ज्याकोबको परिवार गोवा पुगेको समयमा ‘मिमी’ को कास्टिङ एजेन्सीले देखेपछि कलाकार बन्न प्रस्ताव गरेको थियो । स्कटल्यान्डका क्रिस र जुली स्मिथ सन् २०१९को जुनमा दुई छोरा एरिन र ज्याकबलाई लिएर वल्र्ड टुरमा निस्किएका थिए ।
उनीहरू जोर्डन, अल्बानिया, सर्बिया, हंगेरी, भारत हुँदै नेपाल आइपुगे । नेपाल आइपुगेका के थिए सन् २०२० को मार्चबाट विश्वभर लकडाउन सुरु भयो । स्कटल्यान्ड फर्कने कुनै उपाय थिएन । करिब ७ महिना उनीहरू नेपाल बसे ।
सन् २०२० को अक्टोबरमा उनीहरू गोवा पुगे । बेलायत र स्कटल्यान्डमा महामारीको प्रकोप मन्द थिएन । उनीहरूले डिसेम्बरमा ज्याकबलाई गोवाकै किन्डरगार्डेनमा भर्ना गरिदिए । एक दिन ज्याकबलाई स्कुल लिन जाँदा कास्टिङ एजेन्सीको आँखा ज्याकबमा पर्यो ।
उनीहरूले क्रिस र जुलीसँग फिल्मको कुरा गरे । कास्टिङ एजेन्सीले ६ महिनादेखि ज्याकबजस्तै बच्चा खोजिरहेको थियो तर कतै पनि पाइरहेको थिएन । यो सबै कुरा बताएपछि क्रिस पनि विश्वस्त भए । प्रारम्भिक जाँचमा ज्याकबले संकेत देखाएपछि उनीहरू मुम्बई सरे र ज्याकबको हिन्दी सिक्ने सिलसिला सुरु भयो ।
पछि राजस्थानमा ज्याकबको भागको सुटिङ भयो । तर, ज्याकबले जति हिन्दी सिके पनि फिल्ममा भने उनको त्यो सिकाइ काम लागेन । हिन्दी बोल्दा स्कटिस टोन नहटेपछि निर्माण टिमले उनको संवाद डब गराएको छ । किनकि ज्याकब फिल्ममा राजस्थानमा हुर्किएको कृति सेननको छोरा हुन् जसको अनुहार मात्र अमेरिकन छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया