मल्ल र श्रेष्ठलाई हरिततारा पुरस्कार
काठमाडौं : २०७५ सालको हरितारा चलचित्र पुरस्कार अभिनेता कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरेको छ । गत बुधबार बसेको बैठकले २०७६ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट गीतकार सहदेव ढुंगानालाई अर्पण गर्ने पनि निर्णय गरेको छ ।
वि.सं. २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफू र आफ्ना पति हरि शम्सेरको नाममा अक्षय कोष राखी स्थापना गरेको हरितारा चलचित्र पुरस्कार चलचित्र क्षेत्र कै पहिलो पुरस्कार हो ।
वि.सं. २०७५ सालको पुरस्कार ४ दशक भन्दा बढी समय देखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृति, रंगमञ्च, रेडियो नाटक एवं नेपालको गौरव देश विदेशमा पु-याउन महत्वपूर्ण योगदान गरेकाले कृष्ण मल्ल र मदनदास श्रेष्ठलाई अर्पण गर्न लागिएको सदस्य सचिव मोहन निरौलाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी ०७६ सालको हरितारा चलचित्र पुरस्कार ४ दशकभन्दा बढी समयदेखि गीत रचनाको माध्यमबाट नेपाली कला संस्कृति एवं गीत संगीत र चलचित्र क्षेत्रको उत्थानका लागि देश विदेशमा पु-याउनु भएको योगदानका लागि गीतकार सहदेव ढुंगानालाई अर्पण गर्न लागिएको हो । पुरस्कारको राशि जनही २५ हजार रहेको छ ।
यसैगरी मंसिर १८ गते बसेको परिवर्तन नेपालको बैठकले वि.सं २०७६ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरेको छ । श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कारको राशि जनही दश÷दश हजार रहेको छ । परिवर्तन नेपालको सोही बैठकले परिवर्तन सम्मान २०७६ बाट नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका सचिव मोहन पन्त, निर्देशक÷अभिनेता विश्वदीप घिमिरे र निर्देशक÷अभिनेता, संचारकर्मी माधवराज खरेललाई सम्मानित गर्ने पनि निर्णय गरेको छ ।
पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र संचारकर्मी÷गीतकार शान्तिप्रिय रहनु भएको समितिले गरेको हो । यस अघि हरितारा चलचित्र पुरस्कार मह जोडी, शिव श्रेष्ठ, विश्व बस्नेत, रविन्द्र खड्का, रमेश बुढाथोकी, भुवन थापा, करिष्मा मानन्धर, शर्मिला मल्ल, रेखा थापा आदिलाई अर्पण गरिसकिएको छ । पुसको दोस्रो सातामा दुबै पुरस्कार तथा सम्मान अर्पण गरिने कार्यक्रम रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया