कला

द भ्वाइस अफ नेपाल सिजन–३ को डिजिटल अडिसन सुरु

इकागज |
मंसिर २१, २०७७ आइतबार १२:५३ बजे

काठमाडौ:  द भ्वाइस अफ नेपाल सिजन–३ को डिजिटल अडिसन सुरु भएको छ । सोको तेस्रो सिजनका लागि शनिवारबाट डिजिटल अडिसन सुरु भएको छ । द भ्वाइस अफ नेपालको प्लेटमर्फमार्फत् सांगीतिक करियर निर्माण गर्न चाहने प्रतिभाहरुले  अडिसनमा सहभागी हुन पाउने छन् । १६ वर्ष उमेर पुगेका युवादेखि ४५ वर्षसम्मका प्रतिभाहरुले यो रियालिटी सोमा भाग लिन पाउनेछन् । डिजिटल अडिसनमार्फत् आफ्नो गीतको भिडियो रेकर्ड पठाई यसमा आवेदन गर्न सकिने छ ।

अडिसनमा नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलक विदेशी वा विदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् । यस्ता प्रतिभाहरु अडिसन दिन वा कार्यक्रममा सहभागिता जनाउनका लागि काठमाडौंमा भौतिकरुपमै उपलब्ध हुनसक्ने हुनुपर्छ । 


द भ्वाइस अफ नेपाल सिजन ३ को डिजिटल अडिसनमा सहभागी हुन द भ्वाइस अफ नेपालको अफिसियल एप डाउनलोड गरी फारम भर्नुपर्छ । फारम भरेपछि मोबाइलमार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने छ । आफ्नो रेकर्ड पठाएपछि अडिसनमा सहभागिताको प्रमाणस्वरुप आवेदनकर्ताले एउटा कोड प्राप्त गर्नेछन् ।

तर, मोबाइल एपमार्फत् अडिसन दिन असमर्थ भएको  खण्डमा बिभिन्न सामाजिक सञ्जालमा रहेका द भ्वाइस अफ नेपालका पेजमार्फत् पनि अडिसनमा सहभागी हुन सकिने छ । प्रयोगकर्ताले फेसबुकमा रहेको द भ्वाइस अफ नेपालको पेजमा गई म्यासेन्जरमा समेत भिडियो पठाउन सक्नेछन् । ईच्छुक प्रतिस्पर्धीले दि भ्वाइस अफ नेपाल समूहको फोन नम्बर, भाइबर र ह्वाटसएपमार्फत् पनि प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् ।

सिजन २ मा आफ्नो टीमका राम लिम्बुलाई उपाधि दिलाउन सफल टीम प्रमोदका कोच तथा गायक प्रमोद आचार्यले सिजन ३ को उपाधिका लागि दावेदारीसहित अडिसनमा आउन नवप्रतिभाहरुलाई आह्वान गरेका छन् । यस्तै सिजन २ देखि भ्वाइसमा आबद्ध भएका कोच राजु लामाले पनि सिजन ३ मा नयाँनयाँ प्रतिभासँग काम गर्न आफु निकै उत्साहित रहेको बताउँछन् ।

द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलका अनुसार डिजिटल अडिसनमार्फत् सहभागी भएका प्रतिभाहरुको क्षमता परीक्षणपछि १ सय जना प्रतिभाहरुलाई ब्लाइन्ड अडिसनमा सहभागी गराइने छ । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ ।

 


Author

थप समाचार
x