कला

श्रीमती कुटेको मुद्दा खेपिरहेका अभिनेता जोनी डेपलाई स्पेनमा लाइफ टाइम अचिभमेन्ट

इकागज |
साउन २६, २०७८ मंगलबार ११:४४ बजे

लसएन्जल्स  :  श्रीमती एम्बर हर्डसँग मुद्दा मामिला गरिरहेका हलिउड अभिनेता जोनी डेपलाई स्पेनको एक फेस्टिभलले लाइफटाइम एचिभमेन्ट प्रदान गर्ने भएको छ । उनलाई स्पेनको सान सेबस्टियन फिल्म फेस्टिभलले सम्मान गर्न लागेको हो । 

फेस्टिभलले वेबसाइटमा यो सूचना राख्दै जोनी डेप समकालीन अभिनेताहरूमा सबैभन्दा प्रतिभाशाली र बहुआयामिक भएको ठहर गर्दै लाइफ टाइम एचिभमेन्ट प्रदान गर्ने निर्णय गरेको हो । फेस्टिभलले यसअघि यो सम्मान पेनलोप क्रुज, जुडी डेन्च आदिलाई पनि प्रदान गरेको छ । 


जोनी डेपको योगदानको कुरा गर्दा फेस्टिभलले श्रीमती एम्बरसँग चलिरहेको विवादको विषयमा भने उल्लेख गरेको छैन । एम्बरले जोनीमाथि कुटपिट गरेको आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरेकी छिन् । यसको छिनोफानो हुन बाँकी नै छ । तर, बेलायतको पत्रिकाले ‘स्वास्नी कुटुवा’ भनी लेखेको समाचारविरुद्ध  जोनीले हालेको मुद्दा भने हारेका थिए । 

बुढाबुढीको विवादले फ्यान पनि दुईचिरा परेका छन् । उनीहरूले एक अर्कालाई फिल्ममा लिन नहुने अभियान निरन्तर चलाइरहेका छन् । एम्बरका फ्यानको दबाबले जोनीलाई ‘पाइरेट्स अफ दी क्यारेबियन’ सिरिजबाट हटाएका थिए भने जोनीका फ्यानले एम्बरलाई ‘अक्वामेन २’बाट हटाउन दबाब दिइरहेका छन् । 
फेस्टिभल आउँदो सेम्टेम्बर १७ देखि २५ सम्म हुनेछ । 


Author

थप समाचार
x