कला

फुच्चे डान्सर छान्दै केकी र रीमा

इकागज |
मंसिर २२, २०७७ सोमबार ८:२१ बजे

केकी र रीमाका साथ निर्देशक विशाल भण्डारी

काठमाडौं:  ‘कमेडी च्याम्पियन’ निर्माण गरेको ‘थ्रि प्रोडक्सन’ले बालबालिका लक्षित नृत्य प्रतियोगिता लिएर आउने घोषणा गरेको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा निर्माण टिमले ‘डान्स मास्टर लिल चाम्स’शीर्षकमा प्रतियोगिता गर्न लागेको जानकारी गराएको छ ।  ‘थ्रि प्रोडक्सन’ले ‘नेपा प्रोडक्सन’सँगको सहकार्यमा निर्माण गर्न लागेको यस रियालिटी सोमा विजेता हुने बालबालिकाले २५ लाख बराबरको पुरस्कार हात पार्नेछन् ।

आयोजकका अनुसार प्रतियोगितामा १३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन सक्नेछन् ।यो नृत्य प्रतियोगितालाई विशाल भण्डारीले निर्देशन गर्नेछन् ।  सोलाई केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंह मिलेर निर्माण गर्नेछन् ।  ‘प्रतियोगिताको निर्णायकको जिम्मेवारी ‘डान्स इन्डिया डान्स–लिल चाम्स’की विजेता तेरिया मगर, ‘डान्स प्लस सिजन२’ का प्रतियोगी सुशान्त खत्री र ‘बुगी विगी’, ‘नेपाल आइडल’, ‘द भ्वाइस अफ नेपाल’ जस्ता रियालिटी सोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जनले वहन गर्नेछन् ।


सोको सुपर जज भने अभिनेत्री सारंगा श्रेष्ठ रहनेछिन् । कार्यक्रममा होस्टको भूमिका रीमा विश्वकर्मा र कमेडी च्याम्पियनबाट चर्चामा आएका सुमन कोइरालाले निर्वाह गर्ने निर्माण टिमले जनाएको छ ।  निर्देशक भण्डारीले राम्रो नृत्य गर्न सक्ने नेपालका बालबालिकालाई नेपालमै अवसर दिने सोचले यस सो सुरु गर्न लागिएको बताए । उनले भने ‘राम्रो नृत्य गर्ने बालबालिकाले प्लेटफर्मको लागि अर्काको देश पुग्नु पर्ने हुन्थ्यो । तर, अब नेपालकै प्लेटफर्मबाट अर्को प्रतिभावान तेरिया मगर जन्मिनेछन् भन्ने कुरामा हामी आशावादी छौँ ।’ 

निर्माता केकी अधिकारी पहिलो रियालिटी सोबाट पाएको सफलता र हौसलाले नै दोस्रो रियालिटी सो सुरु गर्ने हिम्मत जुटेको बताउँछिन् ।  ‘ कमेडी च्याम्पियनबाट हामीले जुन साथ र सफलता पाएका छौँ, यस सोबाट पनि उत्तिकै साथ र सहयोग पाउनेमा हामी विश्वस्त छौँ ’उनले भनिन् । ‘डान्स मास्टर लिल चाम्स’ ‘कमेडी च्याम्पियन सिजन २’ समाप्त भएको दुई महिनापछि सुरु हुनेछ ।

 सोको पहिलो चरणको अडिसन डिजिटल रुपमा लिइने निर्देशक भण्डारीले जानकारी दिए । रियालिटी सोमा दोस्रो प्रतियोगीले १५ लाख र तेस्रो हुनेले १० लाख नगद पुरस्कार हात पार्नेछन् । निर्माताका अनुसार विजेताले आफूले पाउने पुरस्कारको आधा रकम  करियोग्राफरलाई बाँड्नु पर्नेछ । 


Author

थप समाचार
x