विश्वभर फैलिँदै बीटीएसको जादू
काठमाडौं : जमाना संगीतको छ । पप सुन्ने कि ज्याज, रक सुन्ने कि पुराना लोकभाका, नेपाली सुन्ने कि अंग्रेजी । नयाँ पुस्ता यति भाग्यमानी छ कि मोबाइलमा औंला घुमाएको भरमा संसारका गीतहरू सुन्न पाउँछ । त्यसैले होला, नेपालमा के–पपका पारखी पनि टन्नै छन् । के–पपका पारखीहरूका लागि बीटीएस नौलो होइन । बीटीएस अर्थात् बांगटान सोनियोन्डन । अंग्रेजीमा बुलेटप्रुफ बोय स्काउट्स ।
एकपछि अर्काे हिट गीत दिँदै बीटीएसले रेकर्डहरू बनाउँदै गइरहेको छ । बीटीएसको संगीतको जादु दक्षिण कोरिया र नेपालमा मात्रै नभई संसारभर फैलिँदै गएको छ । केही समय अघि दक्षिण कोरियाली के–पप मेगास्टार ब्यान्डले अर्काे एउटा उपलब्धि हासिल ग¥यो । संगीतको ‘ओस्कार’ मानिने ग्रामी अवार्डको लागि के–पपबाट पहिलोपटक बीटीएसको गीत ‘डाइनामाइट’ मनोनयनमा परेको छ ।
तीन महिना अघि मात्रै बीटीएसले डाइनामाइट गीत युट्युबमार्फत् सार्वजनिक गरेको थियो । ब्यान्डको डेब्यू अंग्रेजी गीत ‘डायनामाइट’ गीतका लागि बीटीएस ग्रामीको ‘बेस्ट पप डुओ–ग्रुप पफर्मेन्स’ विधामा मनोनयनमा परेको हो । केही समय अघि यो गीत ‘बिलबोर्ड हट १००’को शीर्ष स्थानमा समेत पुगेको थियो । शीर्ष स्थानमा पुग्ने यो पहिलो दक्षिण कोरियाली सांगीतिक समूह पनि हो । यो गु्रपसँगै जस्टिन बिबर, लेडी गागा, टेलर पनि छन् । २०२१ को जनवरी ३१ मा ग्रामी अवार्ड वितरण गरिने कार्यक्रम छ । उनीहरूले अवार्ड हात पार्छन् कि पार्दैनन्, यो त हेर्नै बाँकी छ ।
बीटीएसको उदय
यो ब्यान्डले के–पपमा २०१३ मा डेब्यू गरेको थियो । दक्षिण कोरियाको व्यवस्थापनक कम्पनी बिग हिट इन्टरटेन्मेन्टले २०१० मा बीटीएसका सदस्यहरूलाई भेट्टाएको थियो । हार्वड विजनेस स्कुलको केस स्टडीका अनुसार बिग हिट जस्ता कम्पनीहरूले प्रतिभाको खोजी गर्छन् । बीटीएसका सदस्य सुगालाई २०१० को अन्त्यतिर अनलाइन अडिसनमार्फत् खोजिएको थियो । साथै यसैका सदस्य जङ्गकुकले पनि ‘सुपरस्टार के’ मा अडिसन दिएपछि आफूलाई एजेन्सीहरूले पछ्याएको बताएका थिए ।
यी सात जना मिलेर ब्यान्ड बनाउनु अघि उनीहरू बिग हिट इन्टरटेन्मेन्टका प्रशिक्षार्थी थिए । जसमा उनीहरूले सुपरस्टार बन्नको लागि कोचिङ पाए । त्यहाँ उनीहरूले गीत गाउन मात्रै नभई स्टार बन्न चाहिने ‘एक्स फ्याक्टर’ नृत्य अभिनय र मिडियासम्बन्धी तालिम पनि लिए । ‘यो कलेज जस्तै हो,’ बिग हिटका संस्थापक एवं सहनिर्देशक बाङ सी–ह्यकले हार्वड विजनेस स्कुलको केस स्टडीमा भनेका छन् । ब्यान्डका सदस्य जङ्गकुक अहिले २२ वर्षका भए, तर उनी बिग हिटमा आवद्ध हुँदा १४ वर्षका थिए । बिग हिटका प्रशिक्षार्थीबाट उनीहरू के–पप ब्याण्ड बन्न मात्रै तीन वर्ष लागेको हार्वड विजनेस स्कुलको केस स्टडीमा उल्लेखित छ । स्टडीका अनुसार बीटीएसका लागि ८० भन्दा बढीले अडिसन दिएको हुनसक्ने र आर एम, जीन, सुगा, जे होप, जिमिन, भी र जंगकुक मात्र यो समूहमा अटाउन सफल भए ।
किन लोकप्रिय छ बीटीएस ?
संसारभर थुप्रै ब्यान्ड छन् । सबैको आ–आफ्नै विशेषता पनि छ । तर त्यो भीडमा बीटीएसले कसरी आफ्नो ठाउँ बनायो ? यो सबैका लागि चासो र कौतुहलताको विषय बनेको छ । यिनका गीतहरूमा त्यस्तो के छ ? जसले उनीहरूलाई युथ सेन्सेसन बनाएको छ ? यो जान्नको लागि सुरुमा उनीहरूको यात्रा नियाल्नुपर्ने हुन्छ । जब २०१३ मा सात जनाको समूह बन्यो, उनीहरूले पहिलो एल्बम ‘टु कुल फोर स्कुल’ (द्द अयय िद्ध कअजयय०ि सार्वजनिक गरे । जसको ‘नो मोर ड्रिम’ गीत हिट भयो ।
यस गीतको जापनिज भर्सन सार्वजनिक गरेर उनीहरू जापनिज मार्केटमा प्रवेश गरे । उनीहरूले कोरियन भाषा साथै जापनिज भाषामा एल्बम निकाल्न थाले । साथै एसियाका विभिन्न देशमा उनीहरूले सांगीतिक टुर थाले । साथै २०१५ बाट उनीहरूको सांगीतिक टोली अमेरिकातिर पनि घुम्न थाल्यो । २०१६ बाट भने उनीहरू एकाएक चर्चित हुन थाले । उनीह को इपी ‘विङ्गस’ र ‘डिएनए’ गीतको भिडिओले रेकर्ड तोड्न थाल्यो । बिलबोर्डको टप सोसल आर्टिस्ट चार्टमा आफ्नो स्थान बनाउनु नै ब्यान्डका लागि माइलस्टोन साबित भयो ।
जुरुक्क जुरुक्क पार्ने संगीतका साथै उनीहरूको गीतको बोल पनि सरल छ । त्यसैले बीटीएसले सिर्जना गर्ने संगीत युवापुस्तामाझ प्रिय छ । बीटीएसले सिर्जना गर्ने संगीतमार्फत् आफ्ना प्रसंशक एवं फ्यानलाई सामाजिक मुद्दाका बारेमा पनि सन्देश दिन्छन् । उनीहरूका गीतमा सामाजिक मुद्दाहरूमा टिप्पणी गरिएका सुर प्रशस्त भेटिन्छन् । बीटीएसले डेव्यू गर्दै गर्दा संगीतको माध्यमबाट यसरी स्पष्ट रुपमा सामाजिक मुद्दामा टिप्पणी गर्नेहरू धेरै कम थिए । अहिले त्यही सन्देश उनीहरूको समूहको सांगीतिक पहिचान बनेको छ ।
उनीहरूले प्रयोग गर्ने गीतका बोलहरू पनि सामान्य हुने भएकाले गीत सुन्नेहरूलाई यसले बाँधेर राख्न सक्छ । बीटीएसले आफ्ना संगीतमा कोरियन कलाकारहरूको पहिचान पनि अंगालेका छन् । जुन यसअघि विरलै देखिन्थ्यो । समूहले गीतमा कोरियाको स्थानीय मुद्दाका साथै कोरियाली बोलीचालीमा प्रयोग हुने शब्द, कोरियाली सम्पदा, सभ्यताका साथै परम्परागत कोरियाली हानबोक कपडाहरू लगाउँछन् । खासगरी समूहका सुगाले ‘डायचवीता’ गीतमा हानबोक कपडाबाट तयार गरिएको पहिरन लगाएका छन् ।
२०१८ देखि बीटीएसले बिलबोर्डको एल्बम चार्टमा टप गर्ने सिलसिला सुरु भयो । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा बीटीसले हिंसा विरोधी ‘लभ योरसेल्फ’ अभियानबारे मन्तव्य दिएको थियो । कलिला युवाहरू मञ्चमा उभिएर युवा पुस्तालाई अघि बढाउन गर्न सकिने कुराहरू बोल्दै थिए । उनीहरूको उक्त मन्तब्य संसारभर सेयर भएको थियो । उनीहरूलाई नचिन्नेले पनि उनीहरूलाई खोज्दै सुन्न थाले । राष्ट्रसंघसँग मिलेर उनीहरूले यो अभियानमा काम समेत गरे ।
केही वर्ष अघि टाइम म्यागजिनले बीटीएसलाई ‘नेक्स्ट जेनेरेसन लिडर्स’ का रुपमा व्याख्या गरेको थियो । अहिले उनीहरूले दक्षिण कोरियाको जीडीपीमा पनि निकै महत्वपूर्ण योगदान दिएका छन् ।
बीटीएसका सारथि
बीटीएसले २०१३ मा डेब्यू गरेकै वर्ष यो समूहलाई सपोर्ट गर्न अफिसियल फ्यान क्लब बन्यो । क्लबको नाम ‘आर्मी’ राखियो । जसको पुरा नाम ‘एडोरेबल रिप्रेजेन्टेटिभ एमसी फर युथ’ हो । के–पप फ्यानडम संस्कृतिमा कलाकार र फ्यानहरूबीचको बलियो सम्बन्ध आधारभूत पक्ष हो । ब्ल्याकपिंक लगायत अन्य के–पप समूहहरूलाई सहयोग गर्नको लागि आधिकारिक फ्यान क्लबहरू बनेका छन् ।
आर्मीले बीटीएसका हरेक निर्णयमा साथ दिने गरेको छ । बीटीएसका राम्रा कामलाई फैलाउने काम पनि यसले गर्दै आएका छन् । उनीहरूले आफ्ना फ्यानहरू जसलाई ‘आर्मी’ भनेर पनि चिनिन्छ, उनीहरूलाई पनि धन्यवाद दिएका छन् । उनीहरूले कोरियन भाषामा ट्विट गर्दै भने, ‘जसले हाम्रो संगीत सुनेर कठिन समयमा साथ दिए, उनीहरू सबैलाई धन्यवाद । सबैभन्दा बढि धन्यवाद आर्मीलाई किनकि उनीहरूले हामीलाई ग्रामी नोमिनेटेड आर्टिस्ट बनाए ।’
टन्नै रेकर्ड
बीटीएसले निकालेका प्राय गीतहरूले रेकर्ड बनाउँदै आएका छन् । मार्चमा बीटीएसले सार्वजनिक गरेको ‘म्याप अप द सोलःसेभेन’ एल्बम बिलबोर्ड २०० चार्टको टपमा पुगेको थियो । साथै एल्बम ३ लाख ४७ लाख प्रति बिक्रि भएको थियो । बीटीएसको एल्बम ‘अन’को मुख्य गीत युट्युबमा प्रिमियर हुँदा सबैभन्दा बढि भ्युअर भएर नयाँ रेकर्ड कायम गरेको थियो ।
त्यस्तै कोभिड कहर सुरु भएपछि बीटीएसले भर्चुअल कन्सर्टको आयोजना गरेको थियो, जसमा विश्वव्यापी रुपमा सात लाख फ्यानहरूले लाइभ उक्त कन्सर्ट हेरेका थिए । यो रेकर्ड गिनिज वल्र्ड रेकर्डमा समेत दर्ता भएको छ र यो सिलसिला अहिले ग्रामी पनि जारी छ । ग्रामीको ‘बेस्ट पप डुओ–ग्रुप पफर्मेन्स’ विधामा मनोनयनमा परेर रेकर्ड बनाएको छँदै छ, यो भन्दा पहिले ६२ औं ग्रामी अवार्डको कार्यक्रममा उनीहरूले गीत गाएर पनि रेकर्ड बनाएका थिए ।
किनकि के–पपबाट ग्रामीमा प्रस्तुति दिने बीटीएस पहिलो समूह हो । यदि उनीहरूले २०२१ को जनवरी ३१ मा हुने अवार्ड वितरण कार्यक्रममा अवार्ड हासिल गरे भने त्यो एउटा रेकर्ड बन्नेछ । गतहप्ता मात्रै बीटीएसले नयाँ ‘बी’ एल्बम सार्वजनिक गरेको छ । न्यू इयर इभमा यो समूहले दक्षिण कोरियामा लाइभ कन्सर्ट पनि गर्नेछन्, जुन अप्रिलमा कोभिड १९ को महामारीका कारण रोकिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया