कला

हरिवंशको ‘चिना हराएको मान्छे’ एक लाख बिक्यो, पैसा कति कमायो ?

इकागज |
साउन ३१, २०७८ आइतबार १२:४० बजे

काठमाडौं :  अभिनेता हरिवंश आचार्यको आत्मसंस्मरणात्मक कृति ‘चिना हराएको मान्छे’ एक लाख प्रति बिक्री भएको छ । हरिवंश स्वयंले फेसबुकमा आफ्नो कृतिलाई एक लाख पाठकले किनेको जानकारी दिएका हुन् । 

‘यहाँहरूको मायाले गर्दा चिना हराएको मान्छेको एक लाख प्रति अर्थात् शतसहस्र संस्करण प्रकाशन भएको छ । प्रकाशक फाइनप्रिन्ट, आदरणीय पाठकवर्ग तथा सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दछु’ उनले लेखेका छन् । 


‘चिना हराएको मान्छे’ २०७० साल वैशाखमा सार्वजनिक भएको थियो । सार्वजनिक भएलगत्तै यसले बिक्रीमा कीर्तिमान कायम गरेको समाचार आएका थिए । के हरिवंशले यो पुस्तक यसरी नै पाठकको माया पाउला भन्ने सोचेर लेखेका थिए ? ‘थिएन,’ हरिवंशले इकागजसँगको कुराकानीमा भने । 

‘खासमा यसको सुरुवात किताब लेख्ने वा किताब बन्छ भनेर भएको थिएन,’ हरिवंशले थप प्रस्ट पार्दै भने, ‘धेरैले यो किताबलाई गद्यमा लेखिएको शोककाव्य पनि भनेर भन्नुभएको छ । मैले यो किताब त्यतिबेला लेख्न सुरु गरेको थिएँ जति म श्रीमती वियोगमा विक्षिप्त थिएँ । मीरालाई गुमाएपछि उनीसँगका सम्झना लेखेर बस्थेँ । आफ्नो दुःख अरुलाई सुनाएर पनि काम थिएन ।’

हरिवंशका अनुसार उनले किताब लेख्दा पछिल्ला च्याप्टर पहिले र अगाडिका च्याप्टर पछि लेखेका थिए । उनले किताब बन्ने जस्तो भएपछि बाल्यकालको कुरा लेखेको बताए ।‘मैले मीरासँगका कुरा पहिले लेखेको थिएँ । यीमध्ये धेरै च्याप्टर रुँदै लेखेको थिएँ । तर यसरी लेखिरहँदा म सम्हालिएँ पनि । मन हलुका हुँदै थियो । पछि बाल्यकालका कुरा पनि थपौँ भन्ने भएपछि मैले अगाडि आउने कुरा सबैभन्दा पछि लेखेको हुँ,’ हरिवंशले सम्झना गरे । 

किताब छाप्दासम्म उनलाई आफ्नो यो किताब ५÷१० हजार प्रति बिक्री होला भन्ने लागेको थियो । तर अहिले किताबले १ लाख क्रेता पाएकामा हरिवंश दंग छन् । ‘किताबको ठूलो पावर हुँदो रहेछ,’ उनले कारण बताए , ‘पहिला पहिला हामी हाम्रो फिल्म तथा टेलिफिल्मका दर्शक मात्र भेट्थ्यौँ अहिले पाठक पनि भेट्छौँ । १५ गते, लालपूर्जा, हरिबहादुर मदनबहादुर हेरेको कुरा गर्दागर्दै अँ तपाईंको किताब पनि पढेका छौँ भन्नुहुन्छ । किताबले थप माया कमाए जस्तो लाग्छ ।’

‘अनि पैसा चैं कति कमाइ भयो नि !’ इकागजको प्रश्नमा हरिवंशले कमाइको कुरा गर्न चैं प्रकाशकले नै बन्देज लगाएको बताए । ‘हैन यो विषयमा प्रकाशकले पनि कुरा नगरौँ भन्नुभएको छ । किनकि किताब लेख्दा पैसा प्रशस्त आउँछ भन्ने अपेक्षा पनि हुन्न । सबै किताब यसरी १ लाख बिक्री पनि हुन्नन् । म फरक क्षेत्रको मान्छे किताबको दुनियाँमा आएर यत्रो विधि माया कमाएँ, म यसैमा खुसी छु ।’

हरिवंशले नभने पनि किताब बिक्री भएको संख्या, किताबको मूल्य र लेखकले पाउँदै आएको रोयल्टीको अभ्यास हेर्दा उनले ‘चिना हराएको मान्छे’बाट मात्र झन्नै एक करोड रुपैयाँ हाराहारी कमाइ गरेको अनुमान गर्न सकिन्छ । हरिवंशले यो किताबपछि ‘हरिबहादुर’ शीर्षकको उपन्यास पनि लेखेका थिए तर यो किताब भने उति रुचाइएन । अब भने हरिवंश निबन्ध संग्रह निकाल्ने तयारीमा छन् । ‘निबन्धको पाण्डुलिपि तयार छ । प्रकाशकलाई केही दिनमै जिम्मा लगाउँछु । यो वर्षभित्र आउन सक्छ,’ हरिवंशले भने । उनका अनुसार यो निबन्ध संग्रहको न्वारन भने भइसकेको छैन ।


Author

थप समाचार
x