कला

'बाह्रखरी कथा प्रतियोगिता' को तेस्रो संस्करण घोषणा, पहिलो हुनेलाई १ लाख

इकागज |
साउन ३१, २०७८ आइतबार १५:२७ बजे

काठमाडौं :  डिश होम बाह्रखरी कथा प्रतियोगिता -२०७८ प्रेस विज्ञप्ति नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न १२खरी बुक्सले 'बाह्रखरी कथा प्रतियोगिता-२०७८' (तेस्रो संस्करण) घोषणा गरेको छ । प्रतियोगितामा संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षमा जस्तै प्रथम हुनेलाई रु. एक लाख, द्वितीयलाई रु. ६० हजार तथा तृतीय हुनेलाई रु. ४० हजार राशिको पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । कथा लेखनमा प्रदान गरिने यो पुरस्कार नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार हो ।


बाह्रखरी कथा प्रतियोगिता २०७८ को प्रमुख निर्णायकमा नारायण ढकाल, विवश पोखरेल र कुमारी लामा रहेका छन् । निर्णायक समूहले आफूलाई प्राप्त कथामध्येबाट उत्कृष्ट २५ र तिनै कथामध्येबाट प्रथम, द्वितीय तथा तृतीय कथाको छनोट गर्नेछ ।

कथा प्रतियोगिताको सर्त उल्लङ्घन नहुने गरी पठाइएका सम्पूर्ण कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० वटा कथा छनोट गर्नेछ । ती ५० वटा कथा निर्णायक समूहलाई उपलब्ध गराइनेछ । आन्तरिक निर्णायक मण्डलले चुनेका ५० कथामध्येबाट निर्णायक समूहले 'उत्कृष्ट कथा २०७८' का लागि २५ वटा कथा छान्नेछन् र तिनैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुनेछ ।

यो  प्रतियोगितामा गतवर्ष सात सयभन्दा बढी कथाकारले भाग लिएका थिए भने यो वर्ष अझै ठूलो सहभागिता रहने आयोजकको दाबी छ । बाह्रखरी कथाका उत्कृष्ट २५ कथाको सँगालो २०७६ सालमा पुस्तकाकार रूपमा आएको थियो भने २०७७ सालमा कोरोना महामारीका कारण 'डिजिटल भर्सन'मा ल्याइएको थियो जुन बाह्रखरी डट कमबाट पनि प्रकाशित गरिएको थियो ।

यो वर्ष अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन र बिक्री वितरण गरिनेछ । पहिलो संस्करण अर्थात् २०७६ वैशाखमा बजारमा आएको 'उत्कृष्ट कथा २०७६' को हिन्दी अनुवाद पनि प्रकाशित भइसकेको छ । दोस्रो कथा संग्रहको ‘अडियो भर्सन' पनि प्रकाशित गरिएको थियो भने तेस्रो कथा संग्रह पनि 'अडियो भर्सन'मा समेत उपलब्ध हुनेछ । उत्कृष्ट २५ मध्येमा पर्ने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मान स्वरुप प्रदान गरिनेछ ।

आन्तरिक निर्णायक मण्डलले छनोट गरेका ५० कथामध्ये २५ भित्र नपरेका बाँकी कथालाई बाह्रखरी डट कममा प्रकाशित गरिनेछ र कथाकारलाई उचित पारिश्रमिकको व्यवस्था गरिनेछ ।

प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा २०७८ भदौ ३१ गतेभित्र 'बाह्रखरी कथा' को इमेल ठेगाना [email protected] वा books@ baahrakhari.com मध्ये कुनै एकमा पठाउनु पर्नेछ। कथा प्रतियोगिताको नतिजा २०७८ मंसीर ३ गते शुक्रबार एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिनेछ ।

सोही दिन 'उत्कृष्ट कथा-२०७८' को लोकार्पणसमेत हुनेछ । आधुनिक नेपाली कथा क्षेत्रमा कलम चलाउने स्थापित लेखकदेखि नवप्रतिभासम्मले 'बाह्रखरी कथा प्रतियोगितामा'मा भाग लिन सक्नेछन् ।

प्रतियोगिताको पहिलो संस्करणमा बिना थिङ तामाङको 'ब्याड भाले' प्रथम भएको थियो । लक्ष्मण वियोगीको 'टाउको' द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली' कथा तृतीय भएको थियो । त्यस्तै दोस्रो संस्करणमा मुना चौधरीको ‘लार' प्रथम भएको थियो भने श्रेयज सुवेदीको ‘बेजोडा' द्वितीय र दीपेन्द्र दोङ तामाङको 'बुलेट बाइक' तृतीय भएको थियो।


Author

थप समाचार
x