कला

रिलिजको पहिलो दिन कस्तो रह्यो ‘बेल बटम’को व्यापार ?

इकागज |
भदौ ४, २०७८ शुक्रबार ११:५५ बजे

मुम्बई : महामारीको दोस्रो लहरलाई झेल्दै बिहीबारबाट नयाँ हिन्दी फिल्म ‘बेल बटम’ रिलिज भएको छ । महामारीयता कुनै पनि ठूलो स्टारको फिल्म सार्वजनिक भएको यो पहिलो अवसर थियो । यो फिल्ममा अक्षयकुमार लारा दत्ता, हुमा कुरेसी, वाणी कपुरजस्ता कलाकारको अभिनय रहेको थियो । 

भारतभरका १६ सय हाराहारी हलमा रिलिज भएको फिल्मले पहिलो दिन २ करोड ७५ लाख हाराहारी व्यापार गरेको व्यापार विश्लेषकको अनुमान छ । यो पहिलो वेभ शान्त भएपछि रिलिज भएको राजकुमार राव र जान्हवी कपुर अभिनीत ‘रुही’ भन्दा पनि कम हो । 


त्यसो त भारतमा राज्य सरकारले पूर्ण क्षमतामा हल सञ्चालन गर्ने अनुमति दिएका छैनन् । राज्य सरकारले ५० प्रतिशत अकुपेन्सीमा मात्र फिल्म चलाउन पाउने शर्त राखेका छन् । अझ त्यसमा पनि हिन्दी फिल्मको सबैभन्दा ठूलो बजार मानिने महाराष्ट्र पूर्णतया बन्द छ । हिन्दी फिल्मको कुल कमाईको ३० प्रतिशत हिस्सा महाराष्ट्रका हलबाट आउने गरेको तथ्यांक छ । 

पछिल्ला केही वर्षमा अक्षयकुमारका फिल्मले पहिलो दिन २० करोड हाराहारी व्यापार गर्ने गरेका थिए । व्यापार विश्लेषकले सुस्त बजार प्रवद्र्धन र विदा नभएको दिनमा फिल्म रिलिज हुनुलाई कम व्यापार हुने कारण मानेका छन् । तर, शनिबार र आइतबार सरकारी विदा भएकाले फिल्मको व्यापार बढ्ने उनीहरूको अनुमान छ । यसरी विकेन्डभरमा फिल्मले १५ करोड हाराहारीको व्यापार गर्ने अपेक्षा गरिएको छ । 

इमर्जेन्सीको पृक्ष्ठभूमिमा बनेको फिल्मलाई समीक्षकले औसत प्रतिक्रिया दिएका छन् । फिल्मको पहिलो भाग राम्रो रहेको र दोस्रो भाग तथा क्लाइमेक्स तन्काएको उनीहरूको टिप्पणी छ । त्यसका बावजुद फिल्म हेरुन्जेल रमाइलो रहेको उनीहरूले समीक्षामा उल्लेख गरेका छन् । 


Author

थप समाचार
x