कला

रिलिज अगावै ‘केजीएफ २’ को गोजीमा सय करोड

इकागज |
भदौ ४, २०७८ शुक्रबार १४:४८ बजे

मुम्बई :  हल खुल्ने प्रतीक्षामा रहेको कन्नड फिल्म ‘केजीएफ’को दोस्रो भागले प्रदर्शन अगावै सय करोड सुरक्षित गरेको छ । फिल्मले दक्षिण भारतमा मात्र स्याटालाइट अधिकार बेचेर यत्ति ठूलो रकम कमाइ गरेको हो ।

निर्माण टिमले बताएअनुसार यो फिल्मको टिभीमा प्रदर्शन अधिकार जि न्युजले किनेको हो ।  महंगो रकम तिरेको जिले यो फिल्म अब कन्नड, तेलगु, तमिल र मलयालमका च्यानलमा प्रसारण गर्नेछ ।  


तीन वर्षअघि रिलिज भएको पहिलो भागले आश्चर्यजनक कमाइ गरेको थियो । सुरुमै दुई भागमा आउने घोषणा गरेको फिल्ममा कलाकारको काम ब्याकग्राउन्ड स्कोर र एक्सनले धेरैको मन जितेको थियो । दोस्रो भागको लगानी नै सय करोड भएको बताइएको छ । यस हिसाबले फिल्मले गरेको लगानी स्याटालाइट अधिकार बेचेर नै उठाएको छ । 

कन्नड स्टार यशको मुख्य भूमिका रहेको दोस्रो भागमा भने बलिउड कलाकार पनि थपिएका छन् । दोस्रो भागमा सञ्जय दत्त र रविना टण्डन थपिएका नाम हुन् । यो फिल्म आजकै दिनमा रिलिज हुने भनी घोषणा भएको थियो तर महामारीका कारण यो मितिमा रिलिज हुन नसकेपछि यही मितिमा स्याटालाइटमा भएको सम्झौता सार्वजनिक गरेका हुन् । 


Author

थप समाचार
x