कला

बिहीबारबाट सुरु हुँदै किम्फको नयाँ संस्करण

इकागज |
मंसिर २३, २०७७ मंगलबार १७:४० बजे

राजन कठेत निर्देशित लघु फिल्म 'बेअर ट्रीज अन दि मिस्ट'को एक दृश्य

काठमाडौ‍ : काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को अठारौँ संस्करण  बिहीबारदेखि सुरु हुने भएको छ ।  ५ दिन चल्ने फेस्टिभल बिहीबार सुरु भएर आइतबारसम्म चल्नेछ । कोभिड १९ द्धारा सृजित अहिलेको परिस्थितिलाई दृष्टिगत गरेर यस पटकको महोत्सव भने भर्चुअल हुने भएको छ ।

यस पटक १५ मुलुकका १८  वटा चलचित्रहरू प्रदर्शनका लागि छानिएका छन् । त्यसबाहेक नेपाल पानोरामा अन्तर्गत कथानक र डकुमेन्ट्री गरी १२ वटा चलचित्रहरू देखाइनेछन् । फिल्म फेस्टिभलको क्रममा सिनेकर्मी र वक्ताहरूसित भर्चुअल अन्तक्र्रिया हुनेछ र परिसंवादको कार्यक्रम पनि सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय चलचित्रहरूमा पर्वतीय जनजीवन, संस्कृति, वातावरण र पर्वतारोहण तथा साहसिक क्रिडाकर्महरू समेटिएका छन् भने नेपाल पानोरामा फेरि एक पटक प्रतिभाशाली युवा नेपाली सिनेकर्मीहरूको प्रस्तुति देख्न पाइनेछ । 


यस पटक किम्फको सन्देश तमसोमा ज्योतिर्गमय र अ्रग्रेजीमा अगेन्स्ट डिस्पेर टुवार्ड्स होप (बनबष्लकत मभकउबष्च, तयधबचमक जयउभ) भन्ने रहेको छ । अहिले कोरोनाको महाव्याधिले उत्पन्न गरेको संकटसित जुध्दै आशा र विश्वासका साथ अघि बढ्ने ध्येय यस नारामा प्रतिबिम्बित भएको छ । किम्फ २०२० को उद्घाटन विख्यात भुटानी फिल्म निर्देशक खेन्चे नोर्बु रिम्पोचेको नयाँ चलचित्र ‘लुकिङ फर अ लेडी विथ फ्याङ्ग्स एन्ड अ मुस्टयाच’को प्रदर्शनबाट हुनेछ । यस चलचित्रको पूरै छायांकन नेपालमै भएको थियो । उक्त अवसरमा रिम्पोचेले भर्चुअल प्रवचन पनि दिनेछन् ।

डकुमेन्ट्री र फिक्सन फिल्मबारे नेपाली युवा फिल्ममेकरहरु माझ छुट्टाछुट्टै परिसंवाद पनि महोत्सवको कार्यक्रममा समावेश गरिएको छ ।दिवंगत लेखक पिटर कार्थकको हिमाल किताबद्धारा प्रकाशित ‘नेपाली म्युजिकमेकर्स’ नामक पुस्तकको नेपाली अनुवादको विमोचन पनि महोत्सवको अवसरमा गरिनेछ । यसैगरी कोभिड १९ र लकडाउनबारे बनाइएका विशेष डकुमेन्ट्रीहरूको प्रदर्शनपछि तिनबारे फिल्मका वास्तविक पात्र तथा कोभिड विशेषज्ञहरू माझ छलफल र विमर्श गरिनेछ । 

यस पटकको तीन सदस्यीय निर्णायक मण्डलमा अमेरिकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिजह्याम, स्वीस पत्रकार र फिल्ममेकर लिजा रुस्ली र नेपालका लेखक नयनराज पाण्डे रहेका छन् । निर्णायक मण्डलले अन्तर्राष्ट्रिय खण्डतर्फ उत्कृष्ट तीनवटा चलचित्र तथा नेपाल पानोरामा खण्डतर्फ उत्कृष्ट कथानक (फिक्सन) र उत्कृष्ट डकुमेन्ट्री चलचित्रको छनौट गर्नेछ । अन्तर्राष्ट्रिय खण्डमा १५ देशका १८ वटा चलचित्र र नेपाल पानोरामातर्फ १२ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ ।


Author

थप समाचार
x