कला

थेगि नसक्नु छ हलिउडमा पनि स्टार कलाकारको भाउ, कुन स्टारले कति लिन थाले ?

इकागज |
भदौ ६, २०७८ आइतबार १०:६ बजे

लसएन्जल्स्  : एक दशकअघि हलिउडमा कुनै कलाकारको बजार भाउ आंकलन गर्ने एक मात्र उपाय थियो, बक्स अफिस । बक्स अफिसमा पैसा कमाउनुको मतलब थियो हलिउडको ‘ए’ लिस्टमा सामेल हुनु । 

आजका दिनमा सफलताको ग्राफ मापन गर्न नेटफ्लिक्स वा एचबीओ म्याक्सको झट्ट नबुझिने डाटामा पनि भर पर्नु पर्छ ।  डिजिटल क्रान्तिले धेरै कुरामा नाटकीय परिवर्तन ल्याएको छ तर यसमा अहं छ कलाकारको बैंक ब्यालेन्स । आज फ्यानले आफ्नो मनपर्ने कलाकारको बैंक ब्यालेन्स कम होला वा डामाडोल होला भनेर निन्द्रा बिगार्न पर्दैन । 


केही वर्षको अन्तरालमा नै कलाकारले पाउने पारिश्रमिकको महंगीले आकाश छोएको छ । अब त झन् कमाउनलाई हलमा लाग्ने फिल्मको मात्र भर पर्नु पर्दैन । स्ट्रिमिङतिर आउने फिल्म वा वेब सिरिजले पनि हलिउड स्टारलाई झट्टै खर्बपति बनाउँछन् । 

सन् १९९६ मा जिम क्यारीले २ करोड अमेरिकी डलर लिँदा हलिउडमा तहल्का मच्चिएको थियो । उनले ‘दि केबल गाय’का लागि लिएको त्यो रकम उस समयको कीर्तिमानी रकम थियो । यो पैसा आज पनि हलिउडमा हेडलाइन बनिरहेको छ । सान्ड्रा बुलोकले प्यारामाउन्टको फिल्म ‘दि लस्ट सिटी अफ डी’, सोनीको ‘बुलेट ट्रेन’का लागि ब्राड पिट  र डिज्नेको ‘थोर ः लभ एन्ड थन्डर’का लागि क्रिस हेम्सवर्थले पनि यत्ति नै रकम लिएको खबर आएका थिए । 

तर कलाकारले पाउँदै आएको यो रकम एकाध वर्षमै उल्लेख्य रूपमा बढेको छ । क्रिस पाइनले प्यारामाउन्टकै ‘डंगिअन्स एन्ड ड्रागन्स’का लागि ११ करोड अमेरिकी डलर पाएको खबर छ भने रबर्ट प्याटिसनले ‘दि ब्याटमेन’ का लागि ३ करोड अमेरिकी डलर पाएको खबरले मिडियामा राम्रै ठाउँ पाएको थियो । 

५ वर्षअघि कलाकारले पाउने यो रकम चर्चाको केन्द्रमा हुन्थ्यो । तर, आज नेटफ्लिक्स, अमेजन र अरु स्ट्रिमरले दिने यस्ता रकमलाई धेरैपछि छाडेका छन् । 
जस्तो कि डेनियल क्रेगलाई लिन सकिन्छ । डेनियल क्रेगले ‘नाइभ्स आउट’को दुई भागका लागि १ अर्ब अमेरिकी डलरमा सम्झौता गरेका छन् । योबाहेक यदि यो फिल्म हलमा रिलिज भयो भने यताबाट कमाएको हिस्सा पनि डेनियलको भागमा पर्नेछ । 

हलिउडमा राम्रै रकम लिनेमा ड्वाने जोन्सन पनि कम छैनन् । अमेजन स्टुडियोले लिएको ‘रेड वन’मा उनले ३० करोड अमेरिकी डलर लिएको चर्चा थियो । यसैगरी लियोनार्दो डिकाप्रियो र जेनिफर लरेन्स अभिनीत ‘डन्ट लुक अप’का लागि लियोनार्दोले २५ करोड अमेरिकी डलर, जुलिया रोबर्टस्ले ‘लिभ दि वल्र्ड बिहाइन्ड’का २५ लाख अमेरिकी डलर र रायन गोसलिङले ‘दि ग्रे मेन’ले का लागि २० करोड डलर पाएका छन् । 

तर पछिल्लो समय स्ट्रिमिङ साइटको सम्झौताले वार्नर ब्रोज जस्ता स्टुडियोको भने दिमाग खराब गरेको छ । वार्नर ब्रोजले सन् २०२१ भित्र रिलिज हुने फिल्मलाई एचबीओ म्याक्समा पनि प्रदर्शन गर्ने सम्झौता गरेको थियो । तर, कलाकारले यो निर्णयको विरोध गरिरहेका छन् ।

भर्खरै मात्र स्कारलेट जोन्सनले डिज्नेविरुद्ध मुद्दा नै हालेकी छिन् । उनले स्ट्रिमिङ साइटमा ‘ब्ल्याक विडो’ रिलिज गरिदिएर हल प्रदर्शनवापत आउने रकम हुस्याएको भन्दै डिज्नेलाई अदालतमा तानेकी छिन् । उनको समर्थन गर्दै अरु थुप्रै कलाकारले पनि भविष्यमा उनको पदचाप पछ्याउने संकेत दिएका छन् । 

यही कुराको संकेत पाएर डेन्जल वासिङटन र विल स्मिथ दुवैले वार्नर ब्रोजका ‘दि लिटिल थिङस्’ र ‘किङ रिचार्ड’का लागि ४० करोड अमेरिकी डलर लिएका खबर आएका छन् । बक्स अफिसको भर नभएर स्ट्रिमिङ साइटमा जाने भएपछि उनीहरूले यस्तो निर्णय लिएको बताइएको छ । नत्र भने यसअघि उनीहरू योभन्दा आधा कम रकममा काम गरिरहेका थिए ।

यसैगरी केन्यु रिभ्सले ‘म्याट्रिक्स ४’ का लागि १४ करोड अमेरिकी डलरमा सम्झौता गरेको र अमेजनले माइकल बी जोर्डनको खातामा ‘विदाउट रिमोर्स’ लागि १५ करोड अमेरिकी डलर जम्मा गरिदिएको पनि खबर छ । 

हल र स्ट्रिमिङ दुवैतिरबाट मोटो रकम उसुल्ने एक मात्र स्टार भने टम क्रुजलाई मानिएको छ । टम क्रुज हलिउडको पहिलो कलाकार हुन् जसले बक्स अफिसबाट आएको रुपैंयाँ स्टुडियोभन्दा पहिले नै लिन्छन् ।

यो त भयो पारिश्रमिकको कुरा । योभन्दा पर पनि स्टुडियोसँग उनको बेग्लै सम्झौता हुन्छ जहाँ उनले फिल्मको बक्स अफिसको आँकडाअनुसार बेग्लै बोनस लिन्छन् । हलिउडमा अहिले उनको बेस प्राइस भने १३ करोड अमेरिकी डलर मानिन्छ । तर यदि फिल्म हिट भएमा यो रकम बढेर धेरै माथि पुग्छ । 


भेराइटी डटकमको सहयोगमा


Author

थप समाचार
x