कला

म आएपछि नै नेपालमा धेरै सिनेमा बन्‍न थाले

इकागज |
भदौ ७, २०७८ सोमबार ११:८ बजे

काठमाडौं :  अभिनेता राजेश हमाललाई सदाबहार लाग्ने आरोप हो, उनले फिल्म खेले तर गतिला फिल्म खेलेनन् । आफूमाथि लाग्ने यी आरोपलाई उनले इतिहासको सहारामा छल्ने प्रयास गर्दै आएका छन् । उनको सेल्फ डिफेन्सको हतियार हुन्छ , ‘उसबेला उद्योगलाई क्वालिटी बढाउनलाई क्वान्टिटीको जरुरी थियो । मैले त्यो गरेको हो ।’

तर, हमालको यो भनाइलाई पछिल्लो समय उनी आफैंले काट्दै आएका छन् । अहिले पनि उनी जस्ता पायो त्यस्तै म्युजिक भिडियो खेल्छन् र टिकटकमा रमाउँछन् । तर, आफ्नो कारणले उद्योग यहाँसम्म आइपुगेको दाबी भने छाड्दैनन् । शनिबार कान्तिपुर फिल्म एकेडेमीको ग्रयाजुएसन समारोहमा पनि उनले घुमाएर पुरानै दाबी दोहोर्याए । 


‘म प्रवेश गर्दासम्म मुस्किलले १४ वटा सिनेमा बनेका थिए । तर, म प्रवेश गरेको अर्को साल म एक्लैले १४ सिनेमा नै गरेँ,’ उनको दाबी थियो । 
उनले यसरी गरेको दाबीलाई तथ्यांकले भने सही पुष्टि गर्दैनन् । नत राजेश हमाल आउनु अघि १४ वटा मात्र फिल्म बनेका थिए न त उनले आफू प्रवेश गरेको दोस्रो साल १४ वटा फिल्ममा काम गरेका थिए । 

तर, आधा घन्टा लामो सम्बोधनमा उनले अहिलेका फिल्ममेकर चुनौतीका चाङमाथि रहेको र चुनौती चिरेर पक्का फिल्मकर्मी बन्न त्याग, लगन र आत्मविश्वास चाहिने बताएका थिए ।

उनले प्रविधिदेखि अभिनयसम्ममा पनि प्रोफसनल देखिन नयाँ पुस्ताले अथाह मेहनत गर्नुपर्ने सुझाव दिएका थिए । ‘टिकटकमा गीत बज्ने बित्तिकै नातिदेखि हजुरबासम्म आफसेआफ नाच्न थाल्छन् । बरु हामीलाई गाह्रो लाग्छ । यसको मतलब के हो भने हामीलाई कलाकार बन्न थप चुनौती छ,’ उनको भनाइ थियो । उनले प्रविधिलाई प्रयोग गर्ने मामलामा पनि फिल्मकर्मी थप चनाखो बन्नुपर्ने सुझाव दिएका थिए । 

‘आजकल बच्चा पनि पहिला आमाको फोटो खिच्छ अनि मात्र आमा भन्छ । ग्याजेटहरू झन् झन् सोफिस्टिकेटेड भइरहँदा हामीले प्रोफेसनल बन्न थप संघर्ष गर्नु अवस्था छ,’ उनले भने । 

हमालले सिनेमालाई चुनौतीले भरिएको क्षेत्रको रुपमा चित्रित गर्दै यसले त्याग, धैर्य र आत्मविश्वासको माग गर्ने बताएका थिए । 
हमालले अहिले चलिरहेको महामारीले भने सिनेमालाई असर नगर्ने बताएका छन् । महामारीका कारण सिनेमाको भविष्यलाई लिएर चिन्ता व्यक्त भइरहँदा अभिनेता हमालले भने सिनेमा सदाकाल जीवित रहने बताए ।

‘सिनेमा यहाँ रहनका लागि आएको हो । जबसम्म मानव जाति रहन्छ तबसम्म सिनेमा पनि रहिरहन्छ । मात्र कथा र कथा भन्ने शैली परिवर्तन भइरहन्छ,’ उनको भनाइ थियो । कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीको ग्रयाजुएसन समारोहमा हौसला बढाउँदै हमालले भने ‘चलचित्र क्षेत्र एकदमै लोकतान्त्रिक क्षेत्र हो । यहाँ जो कोही पनि प्रवेश गर्न सजिलै सक्छ तर टिकिरहन चैं गाह्रो छ । त्यसैले हरेकले एकदमै सोचेर र विचार गरेर मात्रै कदम चाल्नुपर्छ ।’

कार्यक्रममा कान्तिपुर फिल्म एकेडेमीबाट ग्रयाजुएट भएका विद्यार्थीले बनाएका ७ वटा सर्ट फिल्मको प्रदर्शन गर्दै ३१ जना विद्यार्थीलाई ग्रयाजुएसन गरिएको थियो ।  उक्त कार्यक्रममा मौसमी गुरुङको ‘खरानी’, सुरेन्द्र सिंहको ‘युवा’, सनोल दासको ‘झोल’, वर्षा पौडेलको ‘सेफ्टी पिन’, अनिश बुढाथोकीको ‘युद्ध जारी छ’, आशिष अधिकारीको ‘ऋतु’, र रजिना अर्यालको ‘आखिर किन ?’ प्रदर्शन भएको थियो । उक्त सर्ट फिल्ममा फिल्म एकेडेमी मै अध्ययन गरेका विद्यार्थीले अभिनय र सिनेम्याटोग्राफी गरेका थिए । स्क्रिनिङपछि हरेक फिल्मको टिमसँग चलचित्रकर्मी र दर्शकले अन्तक्र्रिया गरेका थिए ।


Author

थप समाचार
x