कला

लैंगिक हिंसा विरोधी भर्चुअल आर्ट प्रदर्शनी

इकागज |
मंसिर २४, २०७७ बुधबार ११:११ बजे

काठमाडौं: लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा प्लान इन्टरनेसनल नेपालले आफ्नो विश्वव्यापी अभियान ‘गल्र्स गेट इक्वेल’ अन्तर्गत किशोरकिशोरीले तयार पारेको आर्टहरूको भर्चुअल प्रदर्शनी शुभारम्भ गरेको छ । प्रदर्शनीमा किशोरकिशोरीले बनाएकामध्ये किशोरी र बालबालिकाको समस्या, उनीहरुको मुद्धा, धारणा, अनुभव र कथाहरुलाई चित्रण गरिएका १५० वटा चित्र राखिएका छन् । 

यस प्रदर्शनीअघि प्लान इन्टरनेसनलले गत अक्टोबरमा अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा सुनसरी, बाँके, बर्दिया, मकवानपुर, जुम्ला, कालिकोट र सिन्धुलीका २५० जना किशोरकिशोरीलाई कला सृजना सम्वन्धी सीप सिकाउन भर्चुअल माध्यमबाट आर्ट वर्कसप आयोजना गरेको थियो । त्यसका सहभागीहरूले आफ्नो समस्या र मुद्धाबारे सरोकारवालाको ध्यानाकर्षण गराउन विभिन्न खालका कला सृजना गरेका थिए । 


प्लान इन्टरनेसनल नेपालकी राष्ट्रिय निर्देशक लिज सातोले भनिन्, ‘हामीले यो वर्षको आर्ट इज पावर’ कार्यक्रमबाट किशोरी र किशोरका थुप्रै उत्कृष्ट आर्टहरू संकलन गरेका छौं,  उनीहरूले तयार पारेका सृजनाहरू धेरै राम्रा छन्, जसमा किशोरीहरूले कुनै पनि प्रकारका हिंसाबाट मुक्त हुन पाउनुपर्ने चाहना राखेका छन्, हामीले उनीहरूको यो सृजनालाई सम्मान गर्नुपर्छ ।’

किशोरकिशोरीका लागि १० वटा कार्यशालामार्फत कला सृजनाका विभिन्न माध्यम चित्रकला, कमिक्स, कविता, गीत लगायतबारे सिकाइएको थियो । बाँकेकी सहभागी अञ्जना थापा मगरले भनिन्, ‘किशोरीहरुको मुद्धालाई चित्रण गर्दै कला सृजना गर्न पाउँदा निकै खुशी लागेको छ, त्यस्तै भर्चुअल प्रदर्शनीमा मेरो सृजना प्रस्तृत गर्न पाउँदा गौरव लागेको छ ।’

आर्ट इज पावर कार्यक्रमको यो दोस्रो संस्करण हो । कोभिड–१९ को महामारीका कारण यो पटक भर्चुअल माध्यमबाट गरिएको कार्यशाला र आर्ट प्रदर्शनीका लागि कालो १०१ नामक संस्थाले सहजीकरण गरेको थियो । किशोरकिशोरीले तयार पारेको कला सृजनामा आधारित भई व्यवसायिक कलाकारहरूले ११ वटा क्यानभास तयार पारेका छन् । नेपालमा किशोरीहरूले भोगिरहेका समस्याबारे सरकारी निकाय, स्थानीय जनप्रतिनिधि लगायतको ध्यानाकर्षण गराउन उनीहरूका लागि समेत ती क्यानभासलाई प्रदर्शनी गरिनेछ ।

विश्वभरका युवा अभियन्ताहरुलाई सहभागी गराएर प्लान इन्टरनेसनलले ‘गल्र्स गेट इक्वेल’ अभियान सुरु गरेको हो । यो अभियानले सबै खालको विविधितामा रहेका किशोरी र युवा महिलालाई उनीहरूको जीवनका लागि चाहिने समान शक्ति सुनिश्चित गर्ने लक्ष्य राखेको छ । यो अभियान अहिले विश्वका ६२ वटा देशमा सञ्चालन भइरहेको छ । 


Author

थप समाचार
x