कला

काबुलको त्यो रक्ताम्य रेगिस्तान

जीवन लुइँटेल |
भदौ १३, २०७८ आइतबार १७:३५ बजे

हिजो–आजका प्रत्येक सपनाहरू
रातमा नै ब्युँझिएर विस्फोटित हुन खोज्छ
कता कताको क्रान्तिकारी कोलाहलमा 
कता कताको क्रान्तिकारी रोदनहरूमा 
त्यसै यो मन अतालिँदै भागे जस्तो लाग्छ 
झल्याँस्स ब्युँझन्छु 
सपनाको तन्द्राबाट 
अचानक चियाउन पुग्छु काबुलको त्यो रक्ताम्य रेगिस्तानलाई 
पल पलमा पड्किरहेको आशा भरोसा अनि सपनाहरूलाई हेर्छु
मुखबाट मुस्कान खस्नु अगावै 
खसिरहेका छन् खुनका ताता थोपाहरू 
जीवनको धावनमार्गमा भाग्दा भाग्दै 
खरानी भइरहेका छन् दिनहरू रातहरू 
मानवताका नाममा एक टुक्रा बाँकी छैन अब त्यहाँ
सभ्यताका चोकहरू र सपनाका हाइवेहरू 
अलपत्र अपहरणमा परेका छन् 
र काटिँदै छन् खुट्टाहरू 
र हराउँदै छन् जुत्ताहरू 
भोकको झोकमा चिजबल ठानेर खाइदिए नानीहरूले 
रक्ताम्य धर्तीबाट आकाशमा देखेका जम्मै सुन्तले ताराहरू 
अब लाग्छ केही पनि बाँकी छैन त्यहाँ
बाँकी छन् 
चोक चोकमा आत्मसमर्पण गर्न ठिक्क परेका सालिकहरू 
अनकन्टार पहाडमा हराएका बुद्धहरू
मैले सोधेको थिएँ 
सल्बलाएका तालीबानीहरू र नकाबधारी उग्र आइसिसहरूलाई 
रगतले रगतको होली खेल्दै 
मुटुले मुटुलाई चिरिरहनेका
बम बारुद र ग्रिनेडधारी यी जल्लादहरूलाई 

०००


इतिहास उदांगो छ यहाँ 
गृहयुद्धमा धुरुधुरु रोएको 
सुडान, सोमालिया र इथोपियाका दृश्यहरू 
आर्तनादमा छटपटाएका 
सिरिया, लिबिया र इराकहरू 
भोक, रोग र शोकमा अलापिएका
कंगो र सिरोलियनहरू 
हार र जितमा रुमल्लिरहेका तत्कालीन तमिल र खमरेजहरू
अस्तित्वको अडान लिइरहेका अस्ति भर्खरका इजरायल र प्यालेस्टाइनहरू 
कतै निरंकुशवाद, समाजवाद 
त कतै पुँजीवाद र साम्राज्यवादले 
हानिरहेको छ चट्याङ, धर्तीका सीमाहरूमा 
त्यसैले त्रस्त्र र भयभित छन् 
कतै सो कल्ड, डिक्टेटर छ त 
कतै खोक्रा, डेमोक्रेसीका पादरीहरू 
कतै शक्तिमा कतै भक्तिमा 
कतै प्रभावमा त कतै अभावमा 
मेटिँदैछन् अनि लेखिँदैछन् नयाँ नयाँ वादहरू 

०००

मैले इतिहासमा सोधेको थिएँ 
अनबिलिभेबल आसविच र ट्रेबलेन्काका कन्सन्ट्रेसन क्याम्पहरूलाई 
अन इमाग्जिनेबल हिरोसिमा र नागासाकीहरूलाई 
अब्जर्ब गरेको थिएँ फ्याटमेन र लिटिलब्वायहरूलाई   
गहिरिएर सुनेको थिएँ, पुनर्जन्म पाएका थोरै यहुदीहरूलाई 
अनि थाहा भयो, रंग र रगतहरू 
जीवन जिन्दगी र जिजीविषा 
मैले औंला उठाएर प्रश्न गरेको थिएँ 
स्टालिन, हिटलर र मुसोलिनीलाई 
प्रश्न सोधेको थिएँ 
होचिमिन्ह र माओहरूलाई 
प्रतिप्रश्न गरेको थिएँ 
फिडेल, ग्वेभारा र प्रचण्डहरू 
अन्ततः उनीहरूले नै मलाई 
शान्ति सम्झौताका पाठ सिकाएर गए । 


Author

थप समाचार
x