कला

‘निर्देशन गर्छु, कमेडी गर्दिँन’

इकागज |
कात्तिक २, २०७७ आइतबार १३:६ बजे

काठमाडौं : कलाकार तथा निर्माता दीपकराज गिरीले आफूले निकट भविष्यमै फिल्म निर्देशन गर्ने तर आफूले निर्देशन गर्ने सिनेमा कमेडी नहुने बताएका छन् । इकागजसँगको कुराकानीमा उनले आफूले निर्देशन गर्ने सिनेमा कमेडी मात्र नहुने बताएका छन् ।

‘राम्रो स्क्रिप्ट पायो भने निर्देशन गर्ने सोच छ । तर, मैले निर्देशन गर्ने फिल्म ‘छक्का पञ्जा’ जस्तो कमेडी मात्र चैं हुन्न । मैले निर्देशन गर्ने सिनेमामा बिल्कुलै नयाँ कलाकार लिएर काम गर्छु,’ दीपकले भने । उनले आफूले निर्देशन गर्ने सिनेमामा ८० प्रतिशत थिएटरका कलाकार लिने पनि जानकारी गराए ।


दीपकले दर्शकको रुपमा आफूलाई कमेडी फिल्म खासै मन नपर्ने भए पनि समयको मागलाई मध्येनजर गरेर कमेडी फिल्म बनाइरहेको पनि बताए । ‘दर्शकको रुपमा भन्नुहुन्छ भने मलाई कमेडी सिनेमा खासै मन पर्दैन । गम्भीर सिनेमा हेर्न रुचाउँछु,’ उनले भने, ‘तर, अहिले हाम्रोमा दर्शकलाई फिल्म हेर्ने आदत बसाउनु छ । अहिले नै प्रयोग गर्ने समय भइसकेको छैन भन्ने लाग्छ । दर्शकले कमेडी फिल्म रुचाइरहनु भएको छ । त्यही कारण हामी कमेडी फिल्म बनाइरहेका छौं ।’

महामारीपछि आफूले बनाइरहेका सिनेमाको शैलीमा पुनर्विचार गरिरहेको पनि बताए । स्थिति सामान्य भएलगत्तै ‘छक्का पञ्जा ४’ सुटिङमा जाने तयारीमा रहेका दीपकले ‘छक्का पञ्जा ४’ नै नयाँ शैलीमा आउन सक्ने संकेत गरे । ‘महामारीभन्दा अगाडिदेखि नै हामी हाम्रै प्याटर्नमा के नयाँ दिन सकिन्छ भनेर पनि छलफल गरिरहेका थियौं । महामारीले हामीलाई यसमा झन् धेरै सोच्ने समय दियो ।  ‘छक्का पञ्जा ४’ नै फरक शैलीमा आउन सक्छ,’ उनले भने । 


 


Author

थप समाचार
x