‘म राजेश हमाल’ राजेश हमालको गुणगान गर्न बनाउन लागेको होइन
काठमाडौं : आउँदो २१ गतेदेखि ‘म राजेश हमाल’को सुटिङ धनगढीबाट सुरु हुँदैछ । यसको शीर्षक सार्वजनिक भएसँगै निर्माता÷निर्देशकलाई धेरैले राजेश हमालको गुणगान गर्न बनाउन लागेको सिनेमा हो ? भनेर सोध्ने गरेका छन् ।
तर सुटिङमा निस्कनु अघि निर्माता तथा निर्देशकले फिल्मले राजेश हमाललाई एउटा बिम्बको रूपमा मात्र प्रयोग गरेको बताएका छन् । पत्रकारसँगको छोटो अन्तक्र्रियामा उनीहरूले फिल्म राजेश हमालको जीवनकथा नभई उनको व्यक्तित्वबाट प्रभावित हुने चरित्रको कथा रहेको बताएका छन् ।
‘केहीले महानायकको विवादपछि यो चर्चाबाट लाभ लिनलाई राजेश दाइको नाम जोडेर फिल्म बनाउन लागेको पनि हुन सक्छ तर मैले यो कथा दुई वर्ष अगाडि नै लेखेको थिएँ । विवाद त पछि सुरु भएको हो,’ निर्देशक जोन योञ्जनले सञ्चारकर्मीसँग भने, ‘ यो फिल्म राजेश दाइको व्यक्तित्वबाट प्रभावित हुने चरित्रको कथा हो । यो धेरैले सोचेभन्दा बिल्कुलै फरक छ ।’
फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एवनराज उप्रेती, अस्मिता लामिछाने, सञ्जोग रसाइली आदि कलाकारको अभिनय रहेको छ । अभिनेता मुकुन भुसालले सानोमा राजेश हमालको फिल्म हेरेर नै आफू नेपाली फिल्मको दर्शक बनेको स्मरण गर्दै उनलाई पर्दामा देख्दा सुपरस्टारवाला अनुभव हुने गरेको बताएका थिए ।
निर्माण टिमले अतिथी भूमिकाका लागि राजेश हमाल स्वयंलाई अफर गरेको छ । उनले स्क्रिप्ट सुनेर आफ्नो नाममा फिल्म बनाउन अनुमति दिए पनि अभिनय गर्ने वा नगर्ने भन्ने विषयमा निधो दिइसकेका छैनन् । निर्माता केदार भुषालले फिल्ममा राजेश हमालको कुनै न कुनै रुपमा उपस्थिति रहने जानकारी दिए ।
‘राजेश हमाल सुपरस्टार मात्र होइन, भावना पनि हो’ भन्ने ट्यागलाइनमा केन्द्रित भएर फिल्म बन्न लागेको निर्माता भुषालले बताए । ‘उहाँ स्टारभन्दा पनि गरिब दुःखीको उद्धारकको रुपमा पर्दामा स्थापित हुनुभयो । यसले उहाँलाई हिरोको रुपमा भन्दा पनि भावनात्मक रुपमा स्थापित गर्यो । हामीले यही कुरालाई फिल्ममा देखाउन खोजेका हौँ,’ भुसालले भने ।
फिल्ममा अभिनेत्री सञ्चिता लुइँटेल महत्वपूर्ण भूमिकामा देखिँदैछिन् । उनले पनि फिल्मको नाम र कथा एकअर्काभन्दा बिल्कुलै अलग रहेको जिकिर गरिन् । यसैगरी फिल्ममा उत्तिकै महत्वपूर्ण भूमिकामा देखिने महेश त्रिपाठीले पनि आफ्नो भूमिका रोचक रहेको दाबी गरे ।
अभिनेता आर्यन सिग्देल अतिथी भूमिकामा देखिँदैछन् । अलोक शुक्लाले खिच्ने फिल्मलाई भीम विश्वकर्माले सम्पादन गर्नेछन् । वर्ड पिक्चर, जोया पपया र ढाकाटोपी प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्ममा अनुज हमाल कार्यकारी निर्मातामा रहेका छन् ।
जोन योञ्जनकै कथा रहेको फिल्मको पटकथा जोन र सायद कार्कीले मिलेर तयार पारेका हुन् । एक महिनाको सेड्युलमा फिल्मको छायांकन धनगढीमा हुनेछ । जोनले यसअघि फिल्म ‘बाह्र सत्ताइस’ को निर्देशन गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया