के विष्णु माझीले एउटा गीतको २ लाख लिन्छिन् ?
काठमाडौं : तीजको छेको पारेर निस्किएको गीत ‘चरी जेलैमा’ले विभिन्न रेकर्ड बनाएसँगै विष्णु माझी फेरि एक पटक चर्चामा छिन् । उनको गीत हप्ता दिन छेऊछाऊमै १ करोड दर्शकले हेरेपछि यो गीत यो सालका लागि ‘तीज एन्थम’ बन्ने बाटोमा छ ।
गीतको चर्चासँगै विष्णु माझीको व्यक्तिगत जीवन सतहमा आउने नै भइहाल्यो । केही वर्षयता विष्णु माझीको स्वर मात्र सुनिन्छ, मान्छे देखिँदैन । स्टुडियोमा गीत रेकर्ड गर्ने रेकर्डिस्टले पनि देख्दैनन् । भनाइ छ, उनी शिरदेखि पाउसम्म छोपिएर आउँछिन् र स्टुडियोमा पनि पर्दा लगाएर गाउँछिन् ।
विष्णु माझी किन आफूलाई यसरी लुकाउँछिन् ? धेरैका आआफ्ना तर्क छन् । गत साल त उनलाई श्रीमान् सुन्दरमणि अधिकारीले बन्धक बनाएर नै राखेको कुरासम्म आएका थिए । काठमाडौंमा मात्र होइन उनको गृह जिल्ला स्याङजामा समेत प्रहरीमा सुन्दरमणि विरुद्ध उजुरी परेको थियो ।
तर, सुन्दरमणि निकट स्रोत भन्छ, पछि स्याङ्जामा विष्णु स्वयं उपस्थित भएर आफू राजु खुशीले पर्दा पछाडि बस्ने गरेको बयान दिएपछि प्रहरीले ससम्मान छाडेको थियो ।
विष्णुको व्यक्तिगत जीवनसँगै यो चोटिको गीतले उनको व्यवसायको पाटो पनि सतहमा आएको छ । त्यो हो, उनले एउटा गीत गाएवापत लिने पारिश्रमिक । पछिल्लो समय आएको हल्ला हो उनले एउटा गीत गाएको २ लाख लिन्छिन् ।
के यो खबर सत्य हो ? विष्णु माझीसँग एउटा गीतमा सहकार्य गरेका हरि लम्साल आफूले विष्णु माझीलाई १ लाखसम्म तिरेको भए पनि २ लाख तिरेर काम नगरेको बताउँछन् । तर, एक वर्ष आफूले काम गर्दा नै अर्को हप्तापछि २ लाख लिने तयारी गरेको विष्णुका श्रीमान् सुन्दरमणिले आफूसँग गरेको हरिले स्मरण गरे ।
‘मैले विष्णु माझीसँग १ वर्षअघि भिटामिन यु भन्ने गीतमा काम गरेको थिएँ । उसबेला मैले १ लाख रुपैंयाँ तिरेको हो । त्यसबेला सुन्दरमणिजीले तपाईं भाग्यमानी हुनुहुँदो रैछ, अर्को हप्ता २ लाख घटी नगाउने भएका छौं भन्नु भएको थियो । मैले २ लाख रुपैंया लिने गरेको हल्ला चैं सुनेको छु,’ हरिले इकागजसँगको कुराकानीमा भने । उनले कम काम गर्ने र सकभर नगर्ने सोचले यसरी शतप्रतिशत पारिश्रमिक बढाएको हुन सक्ने पनि संकेत गरे ।
लगभग यही समयमै विष्णु माझीसँग काम गरेका गायक राजन गुरुङले पनि १ लाखमै काम गराएको बताए । ‘त्यतिबेला मैले पनि ‘बेसीमा गौ’ का लागि १ लाख तिरेको हो । तर यो लिने र दिनेको कुरा हो । माग्नेले पनि माग्न पायो । दिन सक्नेले दिन्छ भने ठूलो कुरो होइन । दिनेले नै यो पैसा कसरी उठ्छ सोचेको होला नी,’ राजनले भने ।
महामारीमा संगीतमा लगानी व्यापक बढेको भए पनि गुमाउनेको संख्या ९९ प्रतिशत रहेको संगीतकर्मी नै बताउँछन् । अझ जुलाईयता युट्युबले ‘पेमेन्ट पोलिसी’ परिवर्तन गरेपछि कमाईको मुख्य माध्यम रहेको युट्युबबाट आउने पैसामा आधाले कमी आएको उनीहरूको भनाइ छ ।
कुनै गीतले युट्युबमा १ करोड भ्युज पायो भने बल्ल निर्माताको हातमा अवस्था हेरी ३ देखि ४ लाख पर्ने गरेको उनीहरूको बुझाइ छ । यस्तोमा विष्णु माझी एक्लैले २ लाख लिँदा गीत थप महंगो हुने निश्चित छ ।
तर लोक गायक शिव हमाल बजारमा थुप्रै गायिका रहेकाले विष्णु माझी नै चाहिनेलाई रकम तिर्न कुनै गुनासो नरहेको बताउँछन् । ‘उहाँलाई मैले १ लाख तिरेर पनि गाएको छु र २ लाख तिरेर पनि । केही समय अगाडि निकालेको ‘भिरमा सेती गाई’ बोलको गीतमा मैले २ लाख तिरेको हो । मलाई त केही गुनासो छैन,’ शिवले भने ।
नेपालमा अञ्जु पन्तलाई गायिकामध्ये धेरै पारिश्रमिक लिने गायिका मानिन्छ । उनले एउटा गीत गाएवापत ३० हजार लिने गरेकी छिन् । लोकदोहोरीतिर शान्तिश्री परियार र कुलेन्द्र विश्वकर्मा पनि यही हाराहारीमा पैसा लिन्छन् ।
यता मेलिना राईदेखि पछिल्लो समय चलेका समीक्षा अधिकारी, रचना रिमाल, एलिना चौहानले २० देखि २५ हजारसम्म लिने गरेको संगीतकर्मी बताउँँछन् । स्रष्टाले मनग्गे पैसा पाउनु पर्छ भन्ने कुरामा कसैको पनि विमति रहन्न । तर एक जनाले चैं कुस्त लिने र बाँकीले चैं थोरै पैसामा काम गर्नुपर्दा असमानताको पिरापिड ठूलो हुन्छ र यसले समग्र क्षेत्रको विकासलाई नै असर गर्न सक्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया