कला

कंगनाको ‘थलाइवी’ मल्टिप्लेक्सले नलगाउने, साथ दिन कंगनाको गुहार

इकागज |
भदौ २०, २०७८ आइतबार ११:१५ बजे

मुम्बई :  कंगना रनावतको तमिलनाड्डुकी पूर्व मुख्यमन्त्री जय ललिताको जीवनीमा आधारित फिल्म ‘थलाइवी’ आउँदो शुक्रबारबाट रिलिज हुँदैछ । रिलिजको पूर्व सन्ध्यामा आएर देशका तीन ठूला मल्टिप्लेक्स चेनले यो फिल्म नलगाउने घोषणा गरेका छन् । रिलिज भएको दुई हप्तामै यो फिल्म ओटिटीमा आउने भएपछि तीन ठूला मल्टिप्लेक्स चेनले फिल्म रिलिज गर्न नसकिने जानकारी गराएका हुन् । 

मल्टिप्लेक्स चेन र निर्माताबीचको विवाद बढ्दै गएपछि कंगना रनावत मैदानमा आएकी छिन् । उनले हिजोका दिनमा ‘राधे’ र ‘मास्टर’ हल र ओटिटीमा एक साथ रिलिज गर्न मिल्ने तर ‘थलाइवी’ चाहिँ नमिल्ने भनेर प्रश्न गरेकी छिन् । उनले हिन्दीमा दुई हप्ताको ग्याप भए पनि दक्षिण भारतमा ओटिटीमा आउने समय चार हप्ताको रहेको बताएकी छिन् । यो फिल्म हिन्दीसँगै तमिल र तेलगु भाषामा पनि रिलिज भइरहेको छ । 


कंगनाले इन्स्टाग्राममा लामो स्ट्याटस लेख्दै फिल्म नचलाउने निर्णय गरेका पिभिआर सिनेमा र इनोक्सले महिला कलाकारलाई माथि आउन नदिन षडयन्त्र गर्ने गरेको पनि आरोप लगाएकी छिन् । ‘हलवाला आफूहरू भेन्टिलेटरमा भएको गुनासो गर्छन् तर जब फिल्म लगाउने बेला भयो महिलाका विरुद्ध एकजुट हुन्छन् । तिनीहरूकै बुद्धिले यो अवस्थामा छन्,’ उनले लेखेकी छिन्, ‘आशा गरौँ तिनको मति ठेगानमा आउँछ ।’सेप्टेम्बर १० मा रिलिज हुने घोषणा गरेको फिल्मले कलिलो उमेरमा तमिल सिनेमाको अनुहार बनेकी जयललिताको राजनीतिक उडानको कथा प्रस्तुत गर्दछ । 


Author

थप समाचार
x