कला

मदनकृष्ण श्रेष्ठको गीतले हलमा रुवाबासी, ‘जीवनको पाना’ पल्टाउँदै रोए सरोज खनाल

इकागज |
भदौ २७, २०७८ आइतबार १२:४४ बजे

काठमाडौँ-  ग्यालमरको दुनियाँमा ‘हाँसेको र रोएका’ समाचार क्लिक बेट हुन् । अझ युट्युबको जगजगी पछि त कलाकारको हात झुक्किएर आँखामा पुग्यो भने पनि धरधरी रोएको हेडिङमा भिडियो आइहाल्छ ।

तर, शनिबार सुन्धाराको सिटिसी मलमा कलाकारबीच रुने होडबाजी जस्तो नै चल्यो । मदनकृष्ण श्रेष्ठको स्वरमा सजिएको गीत ‘जीवनको पाना’ सार्वजनिकिकरणमा समारोहमा उपस्थित भएका कलाकार कसैले पनि आँशु थाम्न सकेनन् । 


पार्किन्सनको रोगले च्याप्दै लगेका मदनकृष्ण श्रेष्ठ पछिल्लो समय गायनमा सक्रिय छन् । गत साल छोरीसँग ‘पानी छायाँमा’ बोलको गीत गाउँदै उनले उनको पुरानो पेसालाई माया नमारेको संकेत गरेका थिए । त्यसयता उनले ‘फूलबुट्टे सारी’ , ‘सुनको कचौरी’ ‘जीवनको पाना’ आदि गीतमा स्वर दिएका छन् । आफूले स्वरमा दिएका गीतमा मदनकृष्ण धेरथोर पर्दामा पनि देखिँदै आएका छन् । 

शनिबार सार्वजनिक भएको गीतमा भने सरोज खनालको एकल अभिनय रहेको छ । तर, गीतको भाव र कलाकार खनालको अभिनय यस्तो थियो कि कलाकारिताको सार बुझने हरकोही द्रवित हुन्थे । खनालले वृद्धावस्थामा पुगेको एउटा उम्दा कलाकारको विगत र वर्तमानलाई ७ मिनेट छोटो गीतमा जीवन्त बनाएका थिए । सिटिसीको मलको सिने डी सेफको हलमा यही भिडियो हेरेपछि ग्लिसिरिन हालेर रुने कलाकार साँच्चिकै रुन सुरु गरेका थिए । 

कार्यक्रममा रुने शृंखला सुरु भएको थियो कलाकार नीर शाहबाट । पोडियममा गीतको बारेमा बोल्न पुगेका नीर शाहले केहीबेर बोल्न सकेनन् । उनको गला अवरुद्ध भएको थियो । मुस्किलले आफूलाई नियन्त्रण गरेका उनले मदनकृष्ण श्रेष्ठ र हरिवंशलाई नेपाली कलाकारिताबाट निकाली दिने हो भने यो क्षेत्र रित्तो देखिने उनको धारणा थियो । यसैगरी गीतको पनि तारिफ गरेका उनले शब्द, संगीत, स्वर, भिडियो र सरोज खनालको अभिनय उच्चकोटीको रहेको बताएका थिए । 

यता भिडियो हेरिसकेदेखि नै हलमा रहेकी गौरी मल्लले आँशु थाम्न सकेकी थिइन् । कार्यक्रम अगाडि बढिरहँदा गौरी रोएको कुरा सबैको नजरमा परेको देखेपछि सरोज खनालले पनि आँशु थाम्न सकिनन् । उनले पोडियमा गएर बोल्दा बोल्दै गौरी मल्ललाई सम्झाउँदै भने ‘गौरी नरो ।’  यसो भन्नुभन्दा अगाडि भने सरोज खनाल आफैं आँशु पुछ्दै पोडियममा पुगेका थिए । 

पोडियममा गएर उनले केही दिनअघि गीत हेरेर मदनकृष्ण श्रेष्ठ स्वयं पनि रोएको सम्झना गरे । ‘मलाई मदन दाइले जिन्दगीभर हँसाउनु भयो । तर, उहाँलाई मैले अस्ति रुवाएँ । क्षमा चाहान्छु दाइ’ खनालले श्रद्धासहित भने । भिडियो हेरे रुनेमा निर्देशक दीपाश्री निरौला पनि थिइन् । उनले हलबाट निस्कँदै भनिन् ‘भोलि हामी पनि बुढेसकालमा यसैगरी विगत सम्झन्छौँ जस्तो लाग्यो । मलाई त गीतले मेरै कथा भने जस्तो लाग्यो ।’ 

सबै रोएको देखेपछि मदनकृष्ण श्रेष्ठले भने ठट्यौली गरे । उनले गौरी मल्ललाई लक्षित गर्दै भने ,‘आज सरोजजीले गौरीलाई रुवाउनु भयो । केही दिनपछि गौरी र म उफ्री उफ्री नाचेका छौँ । त्यो हेरेर हाँस्नु होला ।’शनिबार सार्वजनिक गीतलाई बमबहादुर श्रेष्ठले लेखेका हुन् भने गीतमा संगीत सन्तोष श्रेष्ठको रहेको छ । भिडियोलाई राज केसीले निर्देशन गरेका हुन् । 


Author

थप समाचार
x