कला

पहिलो पल्ट भर्चुअली बाँडियो मदन र जगदम्बाश्री पुरस्कार

इकागज |
कात्तिक २, २०७७ आइतबार १७:४४ बजे

काठमाडौं : मदन पुरस्कार गुठीले इतिहासमै पहिलो पल्ट भर्चुअल रुपमा पुरस्कार बाँडेको छ । हरेक वर्ष घटस्थापनाको दोस्रो दिन मदन पुरस्कार र जगदम्बाश्री बाँड्दै आएको मदन पुरस्कार गुठीले कोभिड-१९ का कारण युट्युबमा लाइभ गर्दै कार्यक्रम सम्पन्‍न गरेको हो ।

कार्यक्रममा नैनितालमा बसेर हिमालय र हिमालय क्षेत्रको अध्ययन गरिरहेका डा शेखर पाठकले ‘यो बाटो कहाँ जाने होला ?’ शीर्षकमा विध्दत प्रवचन दिएका थिए भने जगदम्बाश्री र मदन पुरस्कार पाउने दुवै स्रष्टा शान्ति ठटाल र चन्द्रप्रकाश बानियाँ आफू बसिरहेको ठाउँबाट मन्तव्य प्रस्तुत गरेका थिए । जगदम्बाश्री प्राप्त गरेकी संगीतकार ठटालले सिलगुडीबाट भिडियो लाइभमा आफ्नो मन्तव्य प्रस्तुत गरेकी थिइन् भने मदनपुरस्कार प्राप्त कृति ‘महारानी’का लेखक चन्द्रप्रकाश बानियाँले पोखराबाट आफ्नो मन्तव्य राखेका थिए ।
 
मन्तव्य राख्दै शान्ति ठटालले जगदम्बा प्राप्त गरेको खबरले भाव विहवल बनाएको बताएकी थिइन् । ‘जगदम्बाश्री ले मेरो संगीत यात्रा सार्थक भएको महसुस गरेको छ । यो मेरो जीवनको स्मरणीय र ऐतिहासिक दिन हो,’ उनले भनिन् । सन् १९५५ देखि संगीतमा सक्रिय ठटालले कलकत्ताको रविन्द्र भारती संगीत विश्वविद्यालयबाट कण्ठ संगीतमा तीन वर्षे डिप्लोमा गरेकी थिइन् । ‘परालको आगो’ ‘बाँच्‍न चाहनेहरु’ आदि चलचित्रमा संगीत दिएकी ठटाल नेपाली फिल्मको पहिलो महिला संगीतकारको रुपमा पनि परिचित छन् । प्रवासबाट बनेको ‘परालको आगो’मा ठटालले संगीत गरेकी थिइन् । त्यसबाहेक उनले नृत्यनाटिका, गीति नाटक, रेडियो रुपक, गद्य संगीत आदि विभिन्‍न विधामा संगीत गरेकी छिन् ।
 
त्यसैगरी बानियाँले स्मृतिको गर्भमा रहेको घटना उधिनिएको सपाट व्याख्यालाई साहित्य मानेर ‘महारानी’लाई पुरस्कृत गरेकोमा मदन पुरस्कार गुठीप्रति आभार व्यक्त गरे । गुठीका सदस्य सचिव दीपक अर्यालले महामारी अनिश्चित कालसम्म लम्बिने  लक्षण देखिएकाले भर्चुअल माध्यमबाटै भए पनि वितरण गरेको बताए । ‘धेरैले पछि गरौं भनेर पनि भन्नु भएको थियो । तर, पछि पनि कहिले कहिले होला जस्तो लागेर यसरी गर्यौं,’ उनले भने, ‘ पुरस्कार वितरण समारोह केही घण्टाकै लागि भए पनि सबै साहित्यकार जमघट गर्ने अवसर थियो । आज हामीलाई पनि खल्लो लागेको छ ।’
   
अर्यालले स्थिति सामान्य भएपछि जगदम्बा र मदन पुरस्कार पाउने दुवै स्रष्टालाई सम्बन्धित ठाउँमा गएर ताम्रपत्र तथा पुरस्कारवापत प्राप्त हुने रकम हस्तान्तरण गर्ने जानकारी गराए । यसअघि पारसमणि प्रधान अस्वस्थ हुँदा पनि यसरी नै घरमै गएर पुरस्कार दिएको अर्यालले स्मरण गरे । मदन पुरस्कार गुठीले २०१३ सालदेखि मदन पुरस्कार  र२०४५ साल देखि जगदम्बाश्री बाँड्दै आएको छ । 
 



Author

थप समाचार
x