कला

‘जब वी मेट’ले करिअर बदिलियो, ‘तसन’ले जीवन

इकागज |
मंसिर २९, २०७७ सोमबार १५:३७ बजे

मुम्बई : दोस्रो बच्चा पाउने खबरले करिना कपुर आजभोलि समाचारमा छिन् । यही बेला करिना ‘जुग जुग जियो’को सुटिङ पनि गरिरहेकी छिन् । फिल्मको पहिलो सेड्युल भर्खरै पूरा भएको छ । यसैबीच करिनाले फिल्म कम्पानियनका लागि अनुपमा चोपडासँग कुरा गर्दै दुइटा फिल्मले आफ्नो जीवनको बाटो नै बदलिएको बताएकी छिन् ।

उनले भिडियो अन्तर्वार्तामा ‘जब वी मेट’ र ‘तसन’को बारेमा लामो कुराकानी गरेकी थिइन् । करिनाका अनुसार उनी सन् २००७ को सुरुमा एकसाथ ‘जब वी मेट’ र ‘तसन’को सुटिङ गरिरहेकी थिइन् । त्यतिबेला उनलाई लाग्थ्यो, ‘तसन’ले उनको करिअर नै कहाँबाट कहाँ पुर्याउँछ । किनकि यो यशराज ब्यानरको फिल्म थियो र फिल्मको केन्द्रमा करिना थिइन् ।


अझ यही समयमा उनको ‘जिरो फिगर’ले पनि बजार खाएको थियो । उनलाई लागेको थियो, यो फिल्मपछि करिना ‘किलबिल’ की उमा थुरमानझैं हिट हुनेछिन् । त्यसैले जहाँ उनी ‘तसन’का लागि जिउज्यान लगाएर काम गर्थिन् उहीँ ‘जब वी मेट’मा लेखेको लाइन मात्र बोल्ने काम गर्थिन् । उनलाई ‘जब वी मेट’ खेल्नलाई उसबेलाका प्रेमी शाहिद कपुरले कर गरेका थिए । शाहिदले फिल्ममा उनको भूमिका आफ्नोभन्दा धेरै नै राम्रो भएका भन्दै मन लगाएर काम गर्न प्रेरित गर्थे । तर, यतिबेलै करिनाको मन सैफतिर पनि लागेको थियो । 

उनले भनेकी छिन्, ‘खासमा ‘तसन’ले मेरो जीवन र करिअर दुवै बदल्छ भन्ने लागेको थियो । तर, ‘जब वी मेट’ले करिअर बदल्यो र ‘तसन’ले जीवन ।’
करिनाले तीन वर्ष लामो शाहिदसँगको प्रेम सम्बन्ध यही फिल्मको सुटिङ गर्दा गर्दै सकेकी थिइन् भने यसको केही वर्षपछि ‘तसन’को सेटमा भेटिएका सैफसँग विवाह गरेकी थिइन् । एक सालको अन्तरमा रिलिज भएका दुई फिल्ममध्ये ‘जब वी मेट’लाई करिअरकै उत्कृष्ट फिल्म मानिन्छ जबकि ‘तसन’ २००८ मा वर्षकै फ्लप फिल्म साबित भएको थियो । 


Author

थप समाचार
x