कला

सरकारलाई हल व्यवसायीको चेतावनी – पुस १० देखि हल खुल्छ

इकागज |
मंसिर २९, २०७७ सोमबार १७:१३ बजे

काठमाडौं : हल व्यवसायीको छाता संगठन नेपाल चलचित्र संघले पुस १० गतेबाट हल खोल्ने निर्णय गरेको छ । सरकारले आफूहरूको मर्का नबझेको भन्दै एकतर्फी रूपमा हल व्यवसायीले हल खोल्ने निर्णय गरेका हुन् । उनीहरूले सरकारलाई ९ बुँदै माग पत्र पनि बुझाएका छन् । चलचित्र संघ अध्यक्षले सरकारले आफूहरूको संयमतलाई कमजोरीको रुपमा बुझेकाले आफूहरू बाध्य भएर हल खोल्ने निर्णयमा पुगेको बताए ।

‘हामीले ६ महिनादेखि सरकारले तोकेको मापदण्ड अनुसरण गरेर हल सञ्चालन गर्छौं, अनुमति देऊ भनेर  सबैतिर गुहार्यौं तर कतैबाट पनि हाम्रो मागको सुनुवाइ भएन । अब हामी सरकारको आदेश कुरेर बस्दैनौं,’ प्रधानले भने । पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएका माग पत्रमा संघले चलचित्र क्षेत्रलाई कोरोना महामारीबाट अति प्रभावित व्यवसायमा राख्नुपर्ने, हल सञ्चालन नभएको अवधिको विद्युत महसुल ‘डिमाण्ड चार्ज’ मिनाहा हुनपर्ने, मौद्रिक नीतिले दिएका सुविधा चलचित्र व्यवसायले पनि पाउनुपर्ने, चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउनुपर्ने, मनोरञ्जन कर खारेज हुनुपर्ने माग गरेका छन् ।


त्यसैगरी संघले दुई वर्षसम्म नेपाली चलचित्रमा मूल्य अभिवृद्धि कर मिनाहा हुनुपर्ने, चलचित्र विकास शुल्क खारेज हुनुपर्ने, बाँकी कर तथा शुल्कहरु २०७८ साल असार मसान्तसम्म बुझाउँदा पनि जरिबाना मिनाहा हुनुपर्ने, चलचित्र घरको लागि आवश्यक उपकरण तथा सामग्रीहरुमा भन्सार महसुल छुट हुनुपर्ने माग पनि अघि सारेको छ । 
चीनबाट फैलिएको कोभिड १९ विश्व यात्रामा निस्किएपछि सरकारले चैत ९ गतेबाट सिनेमा घर बन्द गर्ने निर्णय गरेको थियो । सरकारले यसअघि भिडभाड हुने हवाइजहाज, सार्वजनिक यातायात, सपिङमल आदिलाई खोल्ने अनुमति दिए पनि सिनेमा हललाई खोल्नु अनुमति दिएको छैन । सरकारले केही दिनमै सुटिङका लागि भने अनुमति खुल्ला गर्ने निर्णय गरेको छ । मन्त्री परिषद्को यो निर्णय केही दिनमै सार्वजनिक गर्ने सरकारको तयारी रहेको बुझिएको छ । 


Author

थप समाचार
x