कला

गीतकार विश्ववल्लभलाई राष्ट्रिय स्रष्टा पुरस्कार

इकागज |
असोज ९, २०७८ शनिबार २०:५८ बजे

मोरङ – वरिष्ठ गीतकार विश्ववल्लभलाई राष्ट्रिय स्रष्टा पुरस्कारबाट सम्मान गरिएको छ । गीतकार संघ नेपाल काठमाडौंद्वारा मोरङको सुन्दरहरैचामा शनिबार आयोजित ११ औं वार्षिकोत्सव एवम् नवौं  स्रष्टा सम्मान एवम् गीत विमर्श कार्यक्रममा उनलाई एक लाख ५१ हजार रूपैयाँसहित सम्मान गरिएको हो । 

यसैगरी राष्ट्रिय मातृ भाषा गीतकार पुरस्कारबाट कृष्ण गुरुङ (लमजुङ)लाई २५ हजार रूपैयाँसहित सम्मान गरिएको छ । यस्तै  नेपाली गीतलाई अमेरिकामा लोकप्रिय बनाउन योगदान पुर्‍याएकोमा हरि उप्रेती (अमेरिका)लाई डायस्पोरा पुरस्कारबाट उनको प्रतिनिधित्व गर्ने मौसम पराजुलीलाई सम्मान गरिएको छ । यस्तै वर्ष गीत–२०७७ बाट रमेश दाहाललाई र वर्ष गीत संग्रहबाट गणेश श्रेष्ठलाई सम्मान गरिएको छ । सो अवसरमा पुरस्कार वितरण गर्दै प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले स्रष्टाका कला र साहित्यबाट नागरिक ऊर्जाशील हुने बताए । उनले कला र साहित्य मुलुकको गहना भएको चर्चा गर्दै यसको संरक्षण, सम्वद्र्धन गर्नु सबैको कर्तव्य भएको धारणा राखे । प्रदेश प्रमुख अधिकारीले कलाकार एवम् साहित्यकार सधैंभरि स्वच्छ, निर्मल, कोमल भावनाको हुने हुनाले कसैले चोट दिएमा खोट नलगाउने क्षमतावान हुने विचार राखे । 


संघका अध्यक्ष शुभ मुकारुङ, उपाध्यक्ष वसन्त थापालगायतले जीवित तथा अमरत्व प्राप्त गरेको स्रष्टाका सन्तानको सहयोगबाट अहिलेसम्म ५० लाख रूपैयाँको अक्षयकोष स्थापनामा रकम प्राप्त भएको जानकारी दिए । कार्यक्रममा रकम सहयोग गर्ने स्रष्टाका सन्तानलाई सम्मान गरिएको थियो । संघले यसअघि आठौं स्रष्टा सम्मान कार्यक्रम चितवनमा गरेको थियो ।
 


Author

थप समाचार
x