ठूला बजेटका फिल्म रिलिजका लागि हच्किए, दसैँ-तिहार विदेशी फिल्मको भर
फिल्म ‘लक्का जवान’ को एक दृश्यमा सलोन बस्नेत, वर्षा सिवाकोटी, दीलिप रायमाझी र प्रियंका कार्की
काठमाडौँ - चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले हल खुल्दा तीन महिनाको क्यालेन्डरसहित आउने घोषणा गरेका थिए । यसका लागि उनले चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघलाई क्यालेन्डर बनाएर बोर्डसमक्ष प्रस्ताव राख्न आग्रह गरेको पनि बताएका थिए ।
तर चलचित्र संघले घटस्थापनादेखि हल खोल्ने निर्णय गर्दा एक जना पनि नेपाली निर्मातालाई फिल्म प्रदर्शनका लागि मनाउन सकेनन् । घटस्थापनाको दिन हल खुल्दा दर्शकले नेपाली हैन हलिउड फिल्म हेर्नुपर्नेछ ।
चलचित्र संघका अनुसार हल खुल्दा दर्शकले हलिउड फिल्म ‘फास्ट एन्ड फ्युरियस’ हेर्न पाउनेछन् । यसपछि वितरकले जेम्स बन्ड सिरिजको २५ औँ फिल्म ‘नो टाइम टु डाई’ रिलिज गर्ने तयारी गरेका छन् ।
हल खोल्ने निर्णय नगर्दै शोभित बस्नेतले ओटिटी प्लेटफर्महरूका लागि ‘डाँडाको बरपीपल’ चलाउने निर्णय गरेका थिए । अहिले हल खुल्ने भएपछि शोभित बस्नेत यो फिल्म हलमा चलाउने तयारी गरिरहेका छन् । शोभित बस्नेतले हलले नै फिल्म चलाउन ईच्छा देखाएकाले ओटिटीलाई थाँती राखेर हलमा रिलिज गर्न लागिएको बताएका छन् । उनले फिल्म तिहारको छेकोमा ओटिटीमा रिलिज हुने सम्भावना रहेको बताए ।
तर योबाहेक बाँकी कुनै पनि नेपाली फिल्मले रिलिजको आँट गर्न सकेका छैनन् । निर्माता संघ र चलचित्र संघको संयुक्त कार्यदलले ठूला भनिएका निर्मातासँग रिलिजका लागि आग्रह गरे पनि कुनै पनि निर्माता फिल्म रिलिजका लागि तयार भएनन् ।
कार्यदलले खासगरी पहिलो महामारी अघि रोकिएका ‘प्रेमगीत ३’, ‘म यस्तो गीत गाउँछु २’ ‘लक्का जवान’, ‘चपली हाइट ३’ का निर्मातालाई रिलिजका लागि आग्रह गरेको कार्यदलका सदस्य उदय सुब्बाले जानकारी गराए ।
भारतमा महाराष्ट्र सरकारले हल खोल्ने निर्णय गरेसँगै रोकिएका फिल्मको प्रदर्शन मिति तोक्ने होडबाजी सुरु भएको छ । हल खुलेको भोलिपल्टै सन् २०२१ का मात्र होइन सन् २०२२ का सबै प्रमुख मितिमा भारतीय फिल्मले सार्वजनिक हुने घोषणा गरेका छन् ।
नेपाल र भारतका धेरै जसो चाडपर्व मिल्ने र फिल्म रिलिजका लागि निर्माताले चाडपर्व नै ताक्ने हुँदा नेपाली निर्माताले नेपाली नयाँ वर्षबाहेक बाँकी धेरै विदामा बलिउड फिल्मसँग जुध्नुपर्ने नियति खप्दै आएका छन् ।
दसैँ त भइ नै हाल्यो तिहारमा समेत नेपाली फिल्म आउने सम्भावना न्यून छ । किनकि तिहारमा अक्षय कुमार र कट्रिनाको ‘सूर्यवंशी’ रिलिज हुँदैछ । बलिउड त्यो पनि बहुप्रतीक्षित फिल्म रिलिज हुँदा नेपाली फिल्मले हल पाउने सम्भावना अत्यन्त कम हुन्छ । यही डरले पनि नेपाली फिल्म मैदानमा आउने सम्भावना कम छ ।
यसरी दसैँतिहार जस्ता ठूला चाडमा दर्शकले विदेशी फिल्ममै चित्त बुझाउनु पर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया