ब्याण्डका पनि ब्याण्ड अर्थात् डिजे सुरेन
'विदेशी प्लेटफार्ममा नेपाली डिजे भनेर बोलाएको सुन्न मन छ'
काठमाडौँ- मान्छेलाई जब सपनाले पछ्याउँछ तब भोग निन्द्राको वास्ता हुँदैन । एक थान सपना पूरा गर्न मान्छे रातदिन खट्छ । यस्तै एक युवा हुन् 'डिजे' सुरेन्द्र श्रेष्ठ(सुरेन) । कुनै समय सपना पछ्याउँदै दक्षिण कोरिया पुगेका 'डिजे' सुरेन्द्र यतिखेर भने आफ्नै जन्मभूमिमा अरुलाई नचाइरहेका छन् । काठमाडौँको कालीमाटीमा खेल्दै र विष्णुमतीको सामिप्यतामा हुर्केका ३० वर्षीय सुरेन्द्र यतिखेर काठमाडौँको रात्रिकालीन जीवनसँग रमेका छन् । क्लबमा आउनेहरूलाई नचाइरहेका छन् ।
संगीत मन नपराउनेहरू विरलै होलान्। अझ रात्रिकालीन जीवन मनपराउने र क्लबका पारखीलाई त झनै डिजे संगीत मन नपर्ने कुरै भएन ।
काठमाडौँका ठमेल, लाजिम्पाट र दरबारमार्गका क्लबमा रातको समयमा रमाउन जानेहरू बढ्दै गएका छन् । बिहे, भोज वा पार्टी भनौ त्यसमा संगीतको गुञ्जायस भएन भने त्यसको रौनक नै बेग्लै हुन्छ । भिडभाडलाई रोचक बनाउन डिजे संगीतले थप बल पुर्याएको छ ।
रात्रीकालीन क्लबमा डिजे गरिरहेका ३० वर्षीय सुरेन्द्रलाई केले आकर्षण गर्यो त ? 'सपना देख्न थालेपछि मैले डिजे बन्छु भन्ने मनमा राखेँ। सपना देख्नुपर्छ भन्ने सुनेको थिए । देखेका सपना सबै पूरा हुदैनन् । तर, त्यहीँ सपना मेरो लागि प्रेरणा बन्यो' उनले इकागजसँगको एक भेटमा भने ।
फर्केर रोजेको काम गर्न पाउँदा खुसी
पाँच वर्षअगाडि रोजगारीको सिलसिलामा कोरिया पुगेका सुरेन्द्र लामो समय उतै बसेनन् । फर्कनुपर्दा उनी दुःखी थिएनन् । बरु फर्केपछि आफ्नै काम गर्न पाएकामा खुसी छन्। उनी कोरिया जानुभन्दा अघि पनि डिजे काम गर्थे ।
पढाई मध्यम खालको भए पनि आफ्नो इच्छालाई मार्नु हुदैन भनेर सुरेन्द्रले सानैदेखि ख्याल गरेका थिए । एसलसी सकिएपछि डिजेइङ गर्ने सपनालाई उनले साकार बनाउनतर्फ लागे । पढाइ र काम एकसाथ लैजाने कोशिस गर्दा उनले पढाइलाई भन्दा डिजेइङलाई बढी महत्त्व दिए ।
सुरुवाती समयमा सुरेन्द्रले डिजेइङग् गर्दा उपत्यकामा थोरै संख्यामा डिजे थिए । अहिले भने दिनप्रतिदिन डिजेहरू बढ्दै गएका छन् । विगत सम्झदै उनी भन्छन,' पढाइ भन्दा यो क्षेत्र राम्रो लाग्यो । सँगसँगै मनपरेको काम गर्न पाइने भएकाले निरन्तरता दिन थाले। त्यसबेला नेपालमा डिजेको संख्या एकदमै कम थियो ।' माग बढी भएको समयमा उनले आफूलाई स्थापित गरे ।
पढ्नभन्दा पनि सुरेन्द्रलाई डिजेमा रुचि थियो । रुचि भएकैले बीचैमा उनले पढाइलाई बिराम लगाए । 'खुसी पाउनका लागि मैले यो सबै काम गरिरहेको छु,' उनी भन्छन्,' संगीत पनि साधना हो भनेर केही बुझेको हुनाले यही क्षेत्रमा लागेको छु ।'
मध्यम परिवारमा जन्मी हुर्केका सुरेन्द्रलाई सुरुमा कसैले सहयोग गरेनन् । क्लबबाट राति-राति घर जाँदा यस्तो काम किन गरेको भनेर उनले अभिभावकबाट हप्कीदप्की खाए ।
उनले हाँस्दै भने,' उहाँहरूले डिजे पेसालाई नबुझेर सहयोग र साथ नदिनु भएको रहेछ । एउटा मात्र काम गर। धेरै काममा हात हालेर आफूलाई तनावमा नराख भनेर सल्लाह दिनुहुन्छ ।'
सबैलाई संसारको गाह्रो काम खुसी बनाउनु
समयसँगै, समाज, संस्कृति र मानिसका सोचाइमासमेत परिवर्तन आएको छ । सुरेन्द्रलाई पनि सुरुमा परिवारले सहयोग नगर्दा असहज अवस्था भएको थियो । अहिले भने परिवारले यो पनि राम्रै काम रहेछ भनेर बुझेकाले उनी खुसी छन् । कोभिड-१९ को कारण बन्दाबन्दी भएपछि परिवारलाई पैसा दिन नपाएकोमा उनले दुःख व्यक्त गरे । मासिक तलबबापत सबै आमालाई दिने गरेको उनी सुनाउँछन् ।
'सुरुवातमा कतै गलत क्षेत्र पो छनौट गरेँ कि जस्तो लागेको थियो । शिक्षालाई बेवास्ता गरेर अगाडि बढिरहेको थिएँ । अहिले त्यो भावना आउँदैन । तर पढाइ चाहिँ नछोडेको भए हुने भन्ने लागिरहन्छ,' उनले भने ।
अहिले गरेको पेशाले पढाईलाई विजय प्राप्त गरी खुसी भएकामा सुरेन्द्रले अहिले भने मन बुझाएका छन् । उनलाई लाग्छ, 'अनौपचारिक शिक्षा र काम मात्र गरेर पनि धेरै मानिसहरू स्थापित भएका छन् नि ।' आफ्नो सोच र इच्छा लागेको काम गर्नु पाउदा सबै कुरामा विजय प्राप्त गरेको जस्तो लागेको छ उनलाई।
रात्रिकालीन जीवनको सबैभन्दा रोचक कुरा सुरेन्द्रलाई बाटो लाग्छ । राति डिजेइङ गर्न जाँदा बाटोमा कोलाहल हुन्छ । तर, फर्कदा शान्त हुने भएकाले पनि उनले हरेक ठाउँले शिक्षा दिने र त्यसको महत्त्व बुझेको अनुभव गर्न पाएका छन् ।
'संसारमा सबैभन्दा गाह्रो काम मानिसलाई खुसी बनाउन रहेछ,' डिजेइङ्ग गर्दाको क्षण सम्झदै भन्छन्,' क्लबमा मानिस रमाउन आएका हुन्छन् । आएका सबैलाई कसरी नचाउन सकिन्छ त्यसमा मेरो ध्यान हुन्छ ।' कोहीबेला राम्रो गर्छु भन्दाभन्दै आफूले सोचेजस्तो गर्न नसकिएको पनि उनीसँग अनुभव छ ।
सुरेन्द्रलाई डिजेइङ क्षेत्रमा धेरै गर्न बाँकी छ जस्तो लाग्छ । करिब पाँच वटा क्लबमा काम गरेका उनले एक दशक बढी यही क्षेत्रमा समय बिताइसकेका छन् । उनले उपत्यकाको धेरै जसो नाम चलेको क्लबमा काम गरिसकेका छन् ।
हरेक दिन चार घण्टा डिजेइङ अभ्यास
नेपालको तर्फबाट डिजेको टप हन्ड्रेड सूचीमा पर्ने उनको लक्ष्य छ । अहिलेसम्म नेपालबाट कोही पनि सूचीमा नपरेकाले त्यसमा पर्ने चाहना राखेको उनले बताए । आफू भन्दा कम क्षमता भएका मानिसहरू समेत परेको देख्दा एकदिन हन्ड्रेडको सूचीमा पर्ने विश्वास छ ।
अहिले उनी ठमेलको एलओडीमा डिजेइङ गर्छन्। 'अहिलेको समयमा हरेकको सपना एलओडीमा डिजेइङ गर्ने हुन्छ । मैले यो अवसर पाएको छु । यो पनि मेरो लागि ठूलो अवसर हो,' उनी भन्छन् ।
उनी हरेक दिन डिजेइङगको नयाँ सेट लिएर जाने गर्छन् । डिजेइङ गर्नुभन्दा अघि उनी बढी भन्दा बढी मानिसलाई कसरी नचाउन सकिन्छ त्यसमा ध्यान दिने गर्छन् । दैनिक घरमा चार घण्टा अभ्यास गर्ने गर्छन् । उनको स्टुडियो जमलमा छ, टिममा करिब १० जना छन् ।
रातभर क्लबमा डिजेइङ गर्नुहुन्छ, कति घण्टा सुत्नुहुन्छ त ? उनी भन्छन्,' बिहान चार-पाँच बजे सुत्छु । १२-१ बजे उठेर घरको काम सकी स्टुडियोमा डिजेइङगको अभ्यास गर्छु । त्यहीँबाट फेरि नियमित काममा क्लब जाने गर्छु ।'
नेपालजस्तो देशमा हरेक पेशा र व्यवसायमा चुनौती छ । रात्रिकालीन पेसामा अझ बढी चुनौती छ । क्लबबाट डिजे गरेर आएको भन्नासाथ प्रहरीले मापसे गरेको होला भन्दै दुखः दिने गरेको उनले सुनाए । लगनशील र मेहनती भएमा आफ्नो काममा सफल भइने उनलाई विश्वास जागेको छ ।
मासिक एक लाख आम्दानी
'अबको नेपालमा डिजेइङको बजार राम्रो छ,' उनी भन्छन्,' दुई वर्ष अगाडि काठमाडौँमा रहेका क्लबहरू औंलामा गन्न सकिन्थ्यो । अहिले भने लिस्ट बनाएर कुन क्लब राम्रो हो भनेर छनौट गर्नुपर्ने बेला आएको छ ।' परिवारका सदस्यसहित क्लब जाने चलन बढेको छ । समाज उदार भएसँगै यस्ता व्यवसायहरू झनै फस्टाउने सम्भावना रहेको छ ।
रात्रिकालीन जीवनको लागि ठमेल प्रसिद्ध मानिन्थ्यो अहिले भने उपत्यकाको धेरै स्थानमा क्लब खोलिएका छन् । उनलाई क्लब खुल्नु भनेको डिजेइङ गर्नेलाई अवसरको ढोका खुलेको हो भन्ने लाग्छ ।
मेहनत गर्न सकेमा यो क्षेत्रमा राम्रो कमाइ गर्न सकिने सुरेन्द्रको बुझाइ छ । दुःख छ तर, मेहनत गरेर राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ । उनले इभेन्ट, व्यक्तिगत कार्यक्रममा भएमा मासिक दुईदेखि तीन लाख रुपैयाँ आम्दानी गर्छन् ।
'कोभिड महामारीले इभेन्ट बन्द भएकाले क्लबमा मात्र काम गरी मासिक एक लाख आम्दानी गरिरहेको छु, ' उनले भने,' रमाइलो गर्न आउनेलाई नचाउन सकेमा मात्र मेरो डिजेइङले सफलता प्राप्त गर्छ । हरेक दिन म यो क्षेत्रमा सिकिरहेको हुनेछु ।'
उनलाई आफ्नो ख्यातीप्रति कुनै चाहना छैन । 'नाम भन्दा पनि मलाई काम गरेर देखाउन ईच्छा छ, जसले गर्दा मेरो नामलाई भन्दा कामलाई मानिसले बोलाउन भन्ने लाग्छ, उनी भन्छन्,' नेपालीलाई नचाए अब विदेशी प्लाटफर्ममा गएर नेपालको डिजे भनेर भनुन भन्ने छ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया